Monday, May 7, 2018

सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृतिदिवसका अवसरमा कार्यक्रम सम्पन्न ।

सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृतिदिवसका अवसरमा २०७५ साल वैशाख २७ गते पारिजात स्मृति सभा एवम् पारिजात सम्मान- २०७४ प्रदान कार्यक्रम सम्पन्न भयो । पारिजात स्मृति केन्द्रका अध्यक्ष जनगायक रायनको सभापतित्वमा सम्पन्न  कार्यक्रममा कार्यसमीति सदस्य महेश मास्केले साहित्यकार प्रभात सापकोटालाई  पारिजात बाल-साहित्य सम्मान, अर्का सदस्य प्रगतिशील लेखक संघका अध्यक्ष  प्राज्ञ मातृका पोखरेलले समालोचक डी. आर. पोखरेललाई  पारिजात सिर्जन सम्मान, अध्यक्ष रायनले कलाकार शान्त कुमार राइलाई ( मरणोपरान्त,उहाँको जीवन संगीनी कला राईले ग्रहण गर्नु भयो ) पारिजात कला सम्मान , निवर्तमान अध्यक्ष तथा कवि लक्ष्मी मालीले अष्टलक्ष्मी शाक्यलाई संघर्षशील नारी सम्मान समर्पण गर्नुभएको थियो  । 

कार्यक्रममा पर्यटन ,संस्कृति तथा नागरिक उड्डयन मंत्री  रविन्द्र अधिकारी, सांसद रामबीर मानन्धरले पनि मन्तव्य राख्नुभएको थियो 

इन्द्रेणी सांस्कृतिक समाजका कलाकारहरूद्वारा स्वागत गायन पश्चात सुरु गरिएको स्मृति सभाको संचालन पारिजात स्मृति केन्द्रका सदस्य-सचिव स्नेह सायमीले गर्नुभएको थियो । 





--------------------------------------------------------
कान्तिपुर दैनिक , वर्ष - २६, अङ्क - ८२ 
(२०७५ साल वैशाख २८ गते शुक्रबार )


कान्तिपुर दैनिक , वर्ष - २६, अङ्क - ८२ 
(२०७५ साल वैशाख २८ गते शुक्रबार )









































































-----------------------------------------------------------------------------------

पारिजात पुस्तिका - २०७४


पारिजात स्मृति केन्द्र




पारिजात सृजन सम्मान – २०७४ : डी.आर. पोखरेल
पारिजात बाल–साहित्य सम्मान – २०७४ : प्रभात सापकोटा 
पारिजात सङ्घर्षशील नारी सम्मान – २०७४ : अष्टलक्ष्मी शाक्य 
पारिजात कला सम्मान – २०७४ शान्तकुमार राई  




पारिजात स्मृति केन्द्रका उद्देश्यहरू

* पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताअनुसार तिनलाई क्रमसः  प्रकाशित गर्ने/गराउने ।
* लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी पारिजातका कृति स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने/गराउने  ।
* पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने ।
* पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृतिग्रन्थ, अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिका प्रकाशित गर्ने÷गराउने ।
* पारिजातको स्मृतिमा प्रत्येक वर्ष उहाँको जन्म–जयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने ।
* पारिजातको नाममा पुरस्कार स्थापना गरी सञ्चालन गर्ने ।
* परस्पर आदान–प्रदान तथा सरसहयोगका निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक सङ्घ–संस्थासँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने ।
* माथि उल्लिखित उद्देश्य प्राप्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्रोत र साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।

पारिजात स्मृति केन्द्रको विशेष अनुरोध

* कुनै पनि प्रकारको सहयोगबाट यस केन्द्रका उद्देश्यहरू पूरा गर्ने काममा आवश्यक मद्दत पु¥याउनु हुन समस्त शुभेच्छुकमा विनम्र अनुरोध छ ।
* पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइदिनुहुन अनुरोध छ । पारिजातका कुनै पनि रचना प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्यरूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ ।
* पारिजातका कृतिबाट चलचित्र निर्माण गर्न चाहनेले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रम  अनुसारमात्र गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।


साहित्यकार पारिजातको सङ्क्षिप्त परिचय

वि.सं. १९९४ वैशाख महिनामा डा. केएस वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एउटी बालिकाको जन्म भयो । बालिकाको नाम राखियो – विष्णुकुमारी वाइबा । तिनै विष्णुकुमारी वाइबा नेपाली साहित्यमा पारिजातका नामले प्रख्यात हुनुभयो । 
साहित्यकार पारिजातको बाल्यकाल अन्य बालबालिकासरह बित्यो । उहाँको स्वभाव भने अरूको भन्दा भिन्न थियो । उहाँ गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि हाडजोर्नी (Rheumatoid Arthritis)को रोगले उहाँलाई समात्यो । यो रोग उहाँको जीवनपर्यन्त रह्यो ।
साहित्यकार पारिजातलगायत उहाँको सम्पूर्ण परिवारको जीवनमा ठूलो आघात परेको घटना थियो – दाजु शिवको मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा पारिजातका प्रिय दाजु शिवको मृत्यु भएको थियो । यो घटनाले विचलित भएर पारिजातलगायत वाइबा परिवार बाबु डा. केएस वाइबासँग २०१० सालमा काठमाडौँ आइपुग्यो । त्यसबेला पारिजातको उमेर १७ वर्षको थियो । त्यही वर्ष पद्मकन्या विद्याश्रम, डिल्लीबजारबाट उहाँले एस.एल.सी. परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आई.ए. र २०१५ सालमा बी.ए. उत्तीर्ण गर्नुभयो । उहाँले अङ्ग्रेजी विषय लिएर एम.ए.को अध्ययन आरम्भ त गर्नुभयो तर रोगका कारण परीक्षा दिनसक्नु भएन । यहीँबाट उहाँको पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट स्नातकोत्तरको प्रमाणपत्र प्राप्त गर्ने  सिलसिला टुटे पनि पारिजातको भावुक मन नेपाली साहित्यको अध्ययनसँग जोडिइसकेको थियो ।
२०१३ सालमा ‘धरती’ पत्रिकामा दुईओटा कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेकी पारिजात २०१४ सालमा युवा कविद्वारा स्थापित ‘रोधीघर’ नामक साहित्यिक यात्रामा सामेल हुनुभयो । २०१४ मै उहाँको पहिलो पुस्तकका रूपमा ‘आकाङ्क्षा’ कवितासङ्ग्रह प्रकाशित भयो । 
घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न उहाँले २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कूल, पाटनमा शिक्षिकाका रूपमा काम गर्नुभयों । त्यहीबेलादेखि पारिजातलाई रोगले निकै च्यापेको थियो । हावापानी बदल्दा बिसेक होला कि भन्ने आशामा २०१८ सालमा उहाँ स्कूलको जागिर छाडेर एक महिनाका लागि पुनः दार्जिलिङ फर्किनु भयो । उहाँ सात वर्षपछि दार्जिलिङ फर्किनु भएको थियो तर रोग झन्झन् बढ्दै गएपछि २०२१ सालदेखि ओछ्यान पर्नुभयो । ओछ्यान पर्दा उहाँ २७ वर्षकी हुनुहुन्थ्यो । त्यस बेलादेखि पारिजात जीवनभरि ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्य आकाशमा २०१३ देखि कविताको माध्यमबाट आफ्नो चिनारी शुरु गरेको भए तापनि पारिजात गद्य लेखनमा निरन्तर लाग्दै आउनुभएको थियो । पाँचवटा उपन्यास ‘सङ्घर्ष’, ‘वरपीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्तबुझ्दो नभएकाले जलाइदिएको भन्ने उहाँकै भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ सालदेखि २०२१ सालसम्म । उहाँको एउटा उपन्यासले भने नेपाली साहित्यमा ठूलो हलचल ल्याइदियो । त्यो उपन्यास हो – ‘शिरीषको फूल’ । यस उपन्यासले २०२२ सालको मदन पुरस्कार प्राप्त ग¥यो । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’ लाई ओझेलमा पारेर उहाँले आफूलाई नेपाली साहित्यमा पारिजातका रूपमा स्थापित गराउनु भयो ।
२०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरूद्ध विद्रोही सङ्गीतकार र लेखक÷कविहरूको एउटा सशक्त समूहमा पनि पारिजात संलग्न हुनुभयो । युवाहरूको त्यो जागरूक समूहले आफ्नो विद्रोहको स्वर गाउँगाउँ र शहरशहरमा गुन्जाउन थाल्यो । त्यस समूहमा रहेर पारिजात पनि विभिन्न ठाउँमा पुग्नु भयो । त्यस सक््िरmयताका क््रmममा उहाँले आफ्नोे शरीरको अशक्तताको पनि कुनै पर्बाह गर्नु भएन । त्यस समूहको नाम थियो – राल्फा ।  पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृतिको विकास र प्रगतिशील लेखनका क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनपुग्यो ।
साहित्यकार पारिजातको स्वास्थ्य अझै खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदैथियो, त्यसमाथि क्षयरोग थपियो । अल्सर र दम पनि थपियो । विभिन्न रोगबाट मुक्ति पाउन उहाँ २०२६ साल, २०२९ साल, २०३० साल र २०३१ सालमा गरी पटक–पटक उपचार गर्न भारत जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नुभयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिनु भयो । त्यही अठोटसँगै उहाँले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिनु भयो । उहाँ महिला मुक्तिको काममा पनि सक्रिय हुन थाल्नु भयो । अखिल नेपाल महिला सङ्घको अध्यक्ष बन्दै उहाँ भूमिगत काममा समेत संलग्न रहनु भयो । 
पारिजात २०३५÷२०३६ को आन्दोलनमा निकै नै सक्रिय रहनुभएको थियो । २०३६ मा वामपन्थी लेखक–कलाकारहरूको साझा मोर्चाका रूपमा ‘प्रगतिशील लेखक कलाकार सङ्घ’ को स्थापना गर्नका लागि पनि उहाँको भूमिका महत्वपूर्ण रहेको थियो ।
गीत–सङ्गीतमा पनि साहित्यकार पारिजातको औधि रूचि थियो । वेदना सांस्कृतिक समूह, इन्द्रेणी सांस्कृतिक समाज (इसास) सँगै पटक–पटक नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न शहरमा भएका सांस्कृतिक कार्यक्रमहरूमा उहाँ सहभागी हुनुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास) को मानार्थ अध्यक्ष हुनुहुन्थ्यो । 
साहित्यकार पारिजात २०४६ सालको जनआन्दोलनमा पनि अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न उहाँ क््िरmयाशील रहनुभयो । २०४६ चैत ३ गते लेखक, कवि तथा कलाकारले कालोपट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए । त्यो ऐतिहासिक काममा पारिजात अघिल्लो पङ्क्तिमा बसेर सहभागी हुनुभएको थियो । प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानलाई प्रजातान्त्रीकरण गर्नुपर्ने मागसहित सङ्घर्षमा ओर्लिएको ‘प्राज्ञिक सङ्घर्ष समिति’ को संयोजक हुनुहुन्थ्यो– पारिजात । उहाँ प्राज्ञको सही पहिचान, मापदण्ड र परिचालनका निम्ति पर्याप्त प्रयासरत रहनुभयो ।
पारिजातले नयाँ पुस्ताका लेखकलाई अत्यन्तै प्रोत्साहन दिनुहुन्थ्यो । पारिजात निवास म्हेपी नयाँ–पुराना सबै साहित्यकारको जमघटको थलो थियो । उहाँको कोठाको सानो टेबलमा नयाँ साहित्यिक प्रकाशनहरू बिक्रीका लागि राखिएका हुन्थे । लेखकका निम्ति नयाँ पुस्तक बिक्री गर्ने राम्रो स्थान थियो त्यो ।
उहाँले मासिकरूपमा काठमाडौंमा नियमित सञ्चालन हुने ‘प्रतिभा प्रवाह’ र ‘साहित्य सन्ध्या’का साहित्यिक कार्यक्रममा सहभागिता जनाउनुभयो । यी कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइन्थ्यो । त्यसक््रmममा उहाँले नयाँ पुस्ताका सिर्जना सुन्नुहुन्थ्यो र उचित सल्लाह दिनुहुन्थ्यो । 
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार सङ्गठनका उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चका संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष तथा त्रिवि सभा सदस्य हुनुहुन्थ्यो । आउटराइट इन्टरनेशनल (Outright international), फेमिनिस्ट एसोसिएशन (feminist association), सोसाइटी फर ओमेन जिओग्राफर (society for women geographer), एम्नेस्टी इन्टरनेशनल (amnesty international) आदिजस्ता अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग पनि पारिजात सम्बन्धित हुनुहुन्थ्यो ।

पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको थियो । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’ द्वारा अभिनन्दन गरिएको थियो । पारिजातद्वारा लिखित पुस्तक ‘शिरीषको फूल’को अङ्ग्रेजी अनुवाद ब्लु माइमोसा -Blue Mimosa)  लाई अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटीको पाठ्यक्रममा  राखिएको छ । 

उहाँलाई मनपर्ने रङ्ग हरियो हो भने मनपर्ने ऋतु वर्षा हो । त्यस्तै मनपर्ने फूल गुराँस हो । छोइला, मःमः, सुख्खा रोटी, काभ्रो, चिन्डो, टमाटर र कोइरालो उहाँले खानमा मन पराउने चीजहरू हुन् ।

दिनहरू बित्दै जाँदा साहित्यकार पारिजात झनझन शिथिल बन्दै जानु भयो । दीर्घरोगकै कारण वीर अस्पतालको विशेष उपचार कक्षमा उपचार गराउँदा गराउँदै २०५० साल वैशाख ५ गते बिहान ४ बजे सुप्रसिद्ध साहित्यकार पारिजातको निधन भएको थियो । 


पारिजात सृजन सम्मान–२०७४ बाट सम्मानित समालोचक डी.आर. पोखरेलको सङ्क्षिप्त परिचय

ओखलढुङ्गाको बितलब,रूम्जाटारमा जन्मिनु भएका डिल्लीराम पोखरेल नेपालको प्रगतिवादी साहित्यको क्षेत्रमा डी.आर.पोखरेलका नामबाट चिनिनु भएको छ । हाल चितवनको भरतपुरमा बसेर साहित्य सिर्जनामा लागिरहनु भएका पोखरेलका समालोचना, निबन्ध, जीवनी, संस्कृति आदि विषयमा एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । 

माता कृष्णकुमारी पोखरेल र पिता डण्डराज पोखरेलका ज्येष्ठ सुपुत्रका रूपमा २०११ साल भदौ ११ गते जन्मिनु भएका पोखरेलका दुईजना भाइ, एक दिदी र दुई बहिनीहरू छन् । लक्ष्मी पोखरेलसँग विवाह बन्धनमा गाँसिएका पोखरेलका एक छोरा निरञ्जन पोखरेल हाल कानून विषयको उच्च शिक्षा अध्ययन गरिरहेका छन् । 

आफ्नी हजुरआमा, पिताजी र साहित्यकार पारिजातबाट साहित्य लेखनको प्रेरणा पाएको बताउने साहित्यकार पोखरेलले २०३१ सालमा ‘जीवन’ शीर्षकमा पहिलो कविता लेख्नु भएको थियो । २०३२ सालमा पुल्चोक क्याम्पसबाट प्रकाशित ‘प्राविधिक विकास पत्रिका’ मा ‘मेरी आमाको कथा’ शीर्षकको कविता छपाएर साहित्यिक बजारमा पाइलो टेक्नुहुने पोखरेल २०५८ सालमा पहिलो कृति ‘यथार्थवादी समालोचनाको गोरेटोमा’ लिएर नेपाली समालोचना विधामा देखापर्नु भएको हो । त्यसपछि पोखरेलका समाजशास्त्रीय कृति ‘निकुञ्ज र जनताबीचको द्वन्द्व र एकता’ (२०५९), समालोचना कृति ‘पारिजातको साहित्यिक मूल्याङ्कन’ (२०६२), निबन्ध सङ्ग्रह ‘खुल्ला आकाशतर्फ’ (२०६२),निबन्ध सङ्ग्रह ‘संस्कृतिको सेरोफेरो’ (२०६३), साहित्य सङ्गम चितवनको सङ्क्षिप्त इतिहास – ‘साहित्यिक इतिहास’ (२०६४), जीवनीसम्बन्धी कृति ‘राजकृष्ण कँडेलको जीवनी’ ( २०६५), समालोचना कृति ‘समालोचनाको रूपरेखा’ (२०६६), समाजशास्त्रीय कृति ‘हायु जातिको लोकजीवन : एक अध्ययन’ (२०७०),, निबन्ध सङ्ग्रह ‘हिँड्न नपर्ने गोरेटो’ (२०७२), निबन्ध सङ्ग्रह ‘प्रतिभा र प्रवृत्ति’ (२०७२), संस्कृति विषयक सङ्ग्रह ‘पवित्र बौद्धस्थलहरू’ (२०७४), समालोचना कृति ‘नेपाली उपन्यासमा गणतान्त्रिक चेत’ (२०७४) जस्ता कृतिहरू प्रकाशित छन् । साहित्यकार पोखरेलका चार सयभन्दा बढी लेख÷रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । 

साहित्यकार पोखरेलको साहित्यिक एवम् सांस्कृतिक अनुसन्धानको क्षेत्रमा पनि विशेष योगदान रहेको पाइन्छ । उहाँका ‘थारू समुदायमा रहेको परम्परागत ज्ञान, सीप र त्यसको कृषि कार्यमा प्रयोग’ (२०५७) विषयक लघु अनुसन्धान प्रतिवेदन, ‘चेपाङ जातिको सांस्कृतिक जीवन : एक अध्ययन’ (२०५८) विषयक अनुसन्धान प्रतिवेदन, ‘हायु जातिको लोकजीवन : एक अध्ययन’ (२०६७), विषयक अनुसन्धान प्रतिवेदन, ‘हायु जातिको सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन’ (२०६९) विषयक अनुसन्धान प्रतिवेदन र नेपाल प्रज्ञा प्रतिष्ठानको अनुसन्धान योजना अन्तर्गत ‘नेपाली उपन्यासमा गणतान्त्रिक चेत’ (२०७३) शीर्षकको कृति महत्वपूर्ण अनुसन्धानात्मक सामग्रीहरू हुन् । 

साहित्यकार डी.आर. पोखरेल स्रष्टा–द्रष्टा व्यक्तित्वसँगै सङ्गठक व्यक्तित्व पनि हुनुहुन्छ । उहाँले कुनैबेला नेपालको  शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा (चौम) को केन्द्रीय सदस्य भएर देशमा वामपन्थी आन्दोलनलाई अगाडि बढाउने र देशमा प्रजातन्त्र स्थापना गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । कम्युनिष्ट पार्टीको नेतृत्व सँगसँगै उहाँले प्रगतिशील लेखक सङ्घ, नेपाल साहित्यिक पत्रकार सङ्घ, साहित्य सङ्गम चितवन, सिर्जनशील अनुसन्धान केन्द्र – चितवन, चितवन अध्ययन केन्द्र आदि सङ्घ–संस्थाको नेतृत्व तहमा बसेर साहित्यिक सङ्गठक र अभियन्ताको भूमिका समेत निर्वाह गर्नु भएको छ ।  

लेखनसँगै सम्पादनका क्षेत्रमा पनि उहाँको योगदान रहँदै आएको छ । साहित्यकारहरूको पहिलो पाठशाला मानिने केही साहित्यिक पत्रिकाहरूको सम्पादनमा उहाँको महत्वपूर्ण संलग्नता रहेको छ । उहाँले २०६२ सालदेखि अनवरत रूपमा ‘हाम्रो सिर्जना’ त्रैमासिक चलाइरहनु भएको छ । यस्तै, जुही त्रैमासिक, चौदण्डी स्मारिका, रूम्जाटार स्मारिकाको सम्पादन गरेर नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । 

साहित्यकार पोखरेल नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याए वापत विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको छ । उहाँ यथार्थवादी समालोचना प्रतिभा सम्मान–२०६२, वाल्मीकि साहित्य सम्मान–२०६२, साहित्य सङ्गम चितवनद्वारा स्थापित साहित्य सम्मान–२०६४, चितवन साहित्य परिषदद्वारा स्थापित चिसाप प्रतिभा पुरस्कार–२०६६, साहित्य सङ्गम,मकवानपुरद्वारा स्थापित पारिजात स्मृति सम्मान–२०६७, साहित्य सङ्गम चितवनद्वारा स्थापित मदनमोहन जोशी स्मृति पुरस्कार–२०७२, असम नेपाली साहित्य सङ्गमद्वारा अभिनन्दन (२०७४) जस्ता सम्मान, पुरस्कार र अभिनन्दनद्वारा सम्मानित हुनु भएको छ । 

सुप्रसिद्ध साहित्यकार पारिजातले आफूलाई मनपर्ने समालोचकको रूपमा साहित्यकार डी.आर. पोखरेलको नाम लिने गर्नुहुन्थ्यो । साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा नेपाली प्रगतिवादी साहित्यका विशिष्ट समालोचक पोखरेललाई सम्मान गर्न पाउनु पारिजात स्मृति केन्द्रका लागि समेत खुशीको कुरा हो । साहित्यकार  पोखरेल पारिजात सृजना सम्मान – २०७४ द्वारा सम्मानि हुनु भएकोमा हार्दिक बधाई । 

प्रस्तुति : मातृका पोखरेल                     

  

पारिजात बालसाहित्य सम्मान–२०७४ बाट सम्मानित बालसाहित्यकार प्रभात सापकोटाको सङ्क्षिप्त परिचय

प्रभात सापकोटा नेपाली समाजको परिवर्तनका लागि अविच्छिन्न साधनारत प्रतिभाको नाम हो । विगत साढे चार दशकदेखि नेपाली समाजको सांंस्कृतिक रूपान्तरणमा जुट्नु भएका सापकोटाले सिर्जना, समालोचना, खोज–अनुसन्धानका माध्यमबाट सामाजिक चेतना फैलाउने काम गरिरहनु भएको छ ।  

प्रभात सापकोटाको जन्म २०१०, साबिक महादेवस्थान–४, मण्डन, काभ्रेमा भएको हो । उहाँका मातापिताको नाम गंगाप्रसाद सापकोटा र गंगादेवी सापकोटा हो । जेठा सन्तान सापकोटाको नागरिकताको नाम शिवप्रसाद सापकोटा र जन्म मिति २०१८ साल  हो । उहाँ सामान्य किसान परिवारमा जन्मिनु भएको हो । 

प्रभात सापकोटाको पारिवारिक जीवन सामान्य देखिन्छ । बालकैमा बाले छाडेर गएपछि आमासँग हुर्किनुभएका सापकोटाको बिहे २०३२ सालमा सरस्वतीसँग भयो । उहाँका तीन छोरी दीपा, कविता र सविता छन् । महादेवस्थान काभ्रे स्थायी घर भएका सापकोटा हाल कामपा–२९, सामाखुसीमा भाडामा बस्दै आउनु भएको छ । 
प्रभात सापकोटा मूलतः कवि, बालसाहित्यकार र अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँले केही निबन्ध, नाटक, कथा लेखनमा पनि रहर गरेको देखिन्छ तर उहाँलाई सर्जकका रुपमा चिनाउने भरपर्दाे प्राप्ति कविता नै हो । स्पष्ट कथन र परिष्कृत शास्त्रीय छन्दमा सिर्जना गर्न रुचाउने सापकोटाको पहिलो रचना ‘किसान’ शीर्षकको कविता (२०३३) हो । यो रचना उहाँ बनारसमा हुँदा ‘उन्नति मार्ग’ पत्रिकामा प्रकाशित भएको देखिन्छ । यसपछि उहाँका फुटकर रचनाहरू प्रकाशित हुँदै आए । उहाँका पुस्तकाकार कृतिहरू प्रकाशनको क्रम ‘आकुञ्चन’ (सह–कविता सङ्ग्रह २०५१) बाट शुरु भयो । त्यसपछि ‘वारिपारि पाखा’ (सह–कविता सङ्ग्रह, २०५५), ‘यो मृत्यु राष्ट्र होइन’ (कवितासङ्ग्रह,२०६३) तथा ‘वन’ (२०६७) ‘शहर’ (साउँ अक्षर,२०६८), ‘जल’  (साउँ अक्षर,२०६८), ‘माटो’ (२०६८), ‘महको भकारी’ (२०७०) बालकविताका पुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका विभिन्न फुटकर कविताहरू पत्रपत्रिकामा छरिएर रहेको पाइन्छ । 

प्रभात सापकोटा कला संस्कृतिको गहिरो अध्ययनमा समर्पित अध्येता हुनुहुन्छ । उहाँका ‘प्राचीन शहर टोखा : एक अध्ययन’(२०५६) ‘सांस्कृतिक अध्ययनको ऐतिहासिक कृति र विश्व प्रसिद्ध पैँतीस वैज्ञानिक’ (२०६२), ‘तीनचुली तेह«सागर’(२०६४), ‘विश्वप्रसिद्ध पैँतीस दार्शनिक’ (२०६४), ‘पैंतीस भाषाः पैंतीस प्रतिभा’ (२०६६), ‘विज्ञान र प्रविधिका सारथि’ (२०६६), ‘सोह प्रतिभा ःसोह चित्र’ (२०६९) बालकका लागि जीवनीसङ्ग्रहरू प्रकाशित छन् । यसैगरी ‘अनुसन्धान साहित्यिक अभियान विगतदेखि वर्तमान’ (२०६३), ‘अभियानका शब्द सारथि’ (२०६८),‘नेपाली बालनाटकको ऐतिहासिक अध्ययन’ (२०६८, समालोचना), ‘टोखा चाडपर्व र संस्कृति’ (भाग १–२) जस्ता सम्पादित कृतिहरू पनि प्रकाशित छन् । उहाँले अभियान साहित्य प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानसमेत विभिन्न संस्थाहरूमा नेपाली नाटक तथा बालनाटकविषयमा कार्यपत्रहरू पनि प्रस्तुत गर्दै आउनु भएको छ । 

प्रभात सापकोटा साहित्यिक पत्रकारका रूपमासमेत परिचित हुनुहुन्छ । उहाँले बनारसमा रहँदाबस्दादेखि नै साहित्यिक पत्रिकाहरूमा आफ्नो उपस्थिति जनाएको पाइन्छ । विसं २०५२ मा ‘तादी’ नामको पत्रिका दर्ता गराई अर्ध–वार्षिक रूपमा सम्पादन–प्रकाशन गर्दै आउनु भएको छ । यसैगरी उहाँले ‘जम्को’ साहित्यिक मासिक (२०५४) को सम्पादन गरेको देखिन्छ । यस्तै ‘सरस्वती’ स्मारिका (२०५९, विद्यालय मुखपत्र) को सम्पादनमा सक्रियता देखाएको पाइन्छ । विद्यालयस्तरीय पाठ्यपुस्तक सम्पादनमा पनि उहाँको संलग्नता रहँदै आएको छ । पछिल्लो समयममा उहाँ ‘बालकोसेली’ मासिक पत्रिकाको सम्पादन र बालकहरूमा लेखन सीप विकास गर्ने उद्देश्यले सञ्चालित कथालेखन कार्यशालाहरूमा सक्रिय रहेर धेरै बालबालिकाहरूलाई सिर्जनातर्फ अभिप्रेरित गरिरहनु भएको छ ।  

स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका प्रभात सापकोटा जीवन निर्वाहका लागि शिक्षक पेशा समातेका शिक्षासेवी हुनुहुन्छ । उहाँले २०३९ सालदेखि अनवरत शिक्षण कार्य गर्दै आउनु भएको छ । उहाँले अभियान साहित्य प्रतिष्ठानको संस्थापक उपाध्यक्ष, पछि अध्यक्ष हुँदै सदस्य, सल्लाहकारका रूपमा योगदान गर्दै आउनु भएको छ । यसैगरी प्रगतिशील लेखक सङ्घ,अखिल नेपाल लेखक सङ्घ,अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, सुनकोसी साहित्य प्रतिष्ठान, जनमत वाङ्मय प्रतिष्ठानजस्ता संस्थाहरूमा पनि उहाँको संलग्नता रहेको छ । 

सापकोटा विभिन्न पुरस्काहरूबाट पुरस्कृत हुनुभएको छ । उहाँ शिक्षक श्री पुरस्कार (२०५५), टोखा निर्माण मजदुर सम्मान (२०७१), प्रलेस प्रतिभा पुरस्कार (२०७१), जनसाहित्य सम्मान (२०७३) जस्ता पुरस्कार तथा सम्मानहरूबाट सम्मानित भइसक्नु भएको छ । उहाँ पारिजात बालसाहित्य सम्मान–२०७४ बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई छ । 
 प्रस्तुति : छायादत्त न्यौपाने ‘बगर’
     

पारिजात सङ्घर्षशील नारी सम्मान - २०७४ बाट सम्मानित अष्टलक्ष्मी शाक्यको सङ्क्षिप्त परिचय

निरन्तर चार दशक लामो राजनीतिक यात्रामा नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको कपाल फुल्न थालेको छ तर उहाँको राजनीतिक सक्रियतामा भने कपाल फुल्नु र नफुल्नुको अर्थले कुनै प्रकारले तादात्म्य राख्दैन । नेकपा (एमाले) को  प्रदेश नं. ३ की संयोजक शाक्य २०७४ सालमा भएको प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ ‘ख’ बाट प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँ निरन्तर सङ्घर्षशील महिलाको रूपमा सुपरिचित हुनुहुन्छ । 

काठमाडौंको शाक्य परिवारमा २०१० साल असोजमा जन्मनु भएकी शाक्य २०२८ सालमा एसएलसीको जा“च दिएपछि छोरी भएर पनि केही गरेर देखाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नु भयो । उहाँले साथी सुलोचना मानन्धरसँगै शारीरिक व्यायाम गर्ने, पौडी खेल्ने, साइकल चलाउनदेखि विभिन्न तालिम लिन थाल्नु भयो । यसै क्रममा चिनिया“ भाषा सिक्न जानु भयो । यी सबै क््िरmयाकलापमा सहभागी हुन परिवारले अनुमति नदिने कारणले उहा“ले यी क््िरmयाकलाप परिवारलाई थाहै नदिई गर्नु भएको थियो ।

चिनिया“ भाषा सिक्ने क्रममा उहा“ चिनियाँ कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचारबाट प्रभावित हुनुभयो । चिनियाँ पुस्तकालयमा माओत्सेतुङ, ल्युहुलाङ, जेनीमाक्र्स, ल्युसुनका पुस्तकहरुको अध्ययनबाट प्रभावित पनि हु“दै जानुभयो । 

चिनीया“ भाषा शिक्षक महेशमान श्रेष्ठ हुनुहुन्थ्यो । श्रेष्ठले नेपाली समाज र कम्युनिष्ट शासनका बारेमा विभिन्न पुस्तकहरू दिएर उहा“लाई सहयोग गर्नुहुन्थ्यो । चिनिया“ भाषा सिक्ने क्रममा उहा“हरूको एउटा अध्ययन समूह नै बनेको थियो, जो समाज परिवर्तन गर्न चाहन्थ्यो ।

उहाँ बालसेवा विद्यालयमा पढाउन पनि थाल्नु भयो । यसै क्रममा एसएलसी पास भएपछि रत्नराज्यलक्ष्मी कलेजमा भर्ना हुनु भयो । तर कलेजमा मन लगाएर पढ्नु भएन । कारण, ‘बुर्जुवा’ शिक्षा हैन, माक्र्सवादी शिक्षा पढ्नुपर्छ’ भनेर पार्टी  नेतृत्वले भनेपछि उहाँले बुर्जुवा शिक्षा बहिष्कार गर्नुभयो ।  

चिनिया“ भाषा शिक्षक महेशमान श्रेष्ठ बिरामी भएर उपचार गर्न चीन जानु भएपछि उहाँहरूको समूह नेतृत्वविहीन भयो, रानी मौरीविनाको घारजस्तै भयो । यद्यपि अध्ययन समूहले गाउ“गाउ“मा अभियान सञ्चालन गर्न थाल्यो । पहिलो पटक काठमाडौं शहरबाट नजिकको सिन्धुपाल्चोकको राम्चे गाउ“ जा“दा पनि उहा“लाई निकै टाढा गएको महसुस भएको थियो । 

गाउँमा उहाँ जनवादी गीत गाउन र किसानको खेतीपातीको काममा सहयोग गर्न थाल्नुभयो । राजनीतिक पार्टी र नेतृत्वविना पनि उहा“हरूले गाउँ जाने अभियान सञ्चालन गर्नुभयो । 

परिवारले उहाँलाई विवाह गरेर पठाउने योजना बनाएको थियो । तर उहाँले नमानेपछि विद्रोह भयो, घरमैं उहाँ बन्दी हुनुभयो । विवाह रोकियो । यो घटनाले परिवारका सदस्यलाई क्रुद्ध बनायो र उहा“लाई घरबाट बाहिर निस्कन बन्देज लगाइयो । तर बहिनी सुनिताको सहयोगमा अष्टलक्ष्मीले घरबाट बाहिरिने योजना बनाउनु भयो । घर छोड्नु अगाडि आमास“ग साथीको भोजमा जाने बहानामा गहना र लुगाहरू पनि लिनुभयो । बहिनी सुनिताको हातमा घर छोडेको पत्र बुबाको सिरानीमा हाल्न दिनुभयो । २०३६ साल पुस ४ गते उहाँले आफ्नो जन्मघर छोड्नुभयो । यति बेला उहा“ तत्कालीन नेकपा (माले) का युवराज कार्की तथा सीता खड्काको सम्पर्कमा आइसक्नु भएको थियो ।

पार्टीको सम्पर्कमा पुगेपछि उहा“ले भूमिगत जीवन रोज्नुभयो र गहनालगायत सबै सामान पार्टीलाई बुझाउनुभयो । यतिबेला पार्टीको वागमती अञ्चल इन्चार्ज अमृत बोहरा हुनुहुन्थ्यो । पार्टीले उहा“लाई सिन्धुपाल्चोकको पिस्कर गाउ“ पठायो । पिस्कर अल्पसंख्यक थामी जातिको बाहुल्य भएको गाउँ हो ।  यही ठाउ“मा उहा“ले पहिलोपल्ट दुःख भनेको यस्तो हु“दो रहेछ भन्ने देख्नुभयो, भोग्नुभयो । उहा“ले झापा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा बसेर ११ वर्ष भूमिगतरूपमा राजनीतिक काम गर्नुभयो ।  

भूमिगत अवस्थामै अमृत बोहरास“ग पार्टीको झण्डामुनि शपथ खाएर विवाह गर्नुभएकी शाक्यले बालबच्चा हुर्काउन पनि निकै दुःख खेप्नुभयो । उहाँका एक छोरी र एक छोरा छन् । भूमिगत जीवनमा जनताको बीचमैं बालबच्चालाई पनि हुर्काउँदै लग्नुभयो । बालबच्चालाई छोडेर हिंड्दा छोराले आमा नचिन्ने, भाइले दिदी नचिन्नेसम्मको अवस्था आएको थियो । 

भूमिगत रुपमा काम गर्ने क्रममा उहाँ इलाममा पक्राउ पर्नुभयो । पक्राउ पर्दा उहा“ले आफ्नो परिचय काठमाडौंकी एक गृहिणी मीना श्रेष्ठको रूपमा दिनुभयो । तर झापामा पक्राउ पर्दा माइन्युट बुकसहित नै पक्राउ परेपछि उहा“ अष्टलक्ष्मी नै भएको पुष्टि भयो । कष्टडीमा  उहाँले अनेकौं यातना खेप्नुभयो । २०३६ सालमा घरबाट निस्कनु भएकी शाक्यको परिवारका सदस्यस“ग भेटघाट थिएन, एकै पटक २०४६ सालमा इलाममा जेल पर्दा बुबास“ग भेट भयो । जेल पर्दा बुबाले उहाँलाई भन्नुभएको थियो – ‘यस्तो राम्रो काम गर्न पनि घरबाट भाग्नु पथ्र्यो र ? पहिले नै भनेको भए घरमैं राखेर राजनीति गर्न दिन्थेँ नि ।’ २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा उहाँ साथीहरूसँग झापाको लखनपुरबाट पक्राउ पर्नुभएको थियो र बहुदल घोषणासँगै रिहा हुनुभएको थियो । 

अष्टलक्ष्मी शाक्य २०४६ साल जेठमा भएको अखिल नेपाल महिला संघकोे प्रथम सम्मेलनबाट अध्यक्ष र २०४८ सालमा भएको दोस्रो सम्मेलनबाट महासचिव चुनिनु भयो । उहाँले शीर्ष नेतृत्वमा रहेर महिला आन्दोलनको नेतृत्व गर्नुभयो । । 

उहाँ २०४८ सालमा राष्ट्रिय सभाको सदस्य बन्नुभयो । २०५६ सालमा काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाक्य २०६१ असारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुनु भएको थियो । यस्तै, २०६५ सालमा गठित मन्त्रिमण्डलमा उहा“ उद्योग मन्त्री हुनुभयो । यस क्रममा उहाँले महिलालाई सुविधा हुने गरी नयाँ उद्योग नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । 

दोस्रो संविधान सभाको सभासद तथा तत्कालीन व्यवस्थापिका संसदको सांसद रहनु भएकी अष्टलक्ष्मी शाक्य राजनीतिमा लागेर राजनीतिक परिवर्तनका लागि विशेष भूमिका निर्वाह गर्न पाएकोमा सन्तुष्ट हुनुहुन्छ । 

पैतृक सम्पत्तिमा छोरीलार्ई जन्मसिद्ध हक कायम गर्ने (मुलुकी ऐनको एघारौं संशोधन), महिलाको हरेक निकायमा समावेशी÷समानुपाकि सहभागिताका कुरा, आमाको नाममा छोराछोरीलाई नागरिकता दिने तथा महिला हिंसा विरुद्ध विभिन्न ऐन बनाउने सवालमा अष्टलक्ष्मीको विशेष सक्रियता पाइन्छ, जसलाई उहाँ आफूले गरेका उल्लेखनीय कामका रूपमा लिनु हुन्छ ।  महिलालाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्मै नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने अभियानमा उहाँ सक्रियतापूर्वक लागिरहनु भएको छ । 

अष्टलक्ष्मी शाक्य जस्तो निरन्तर सङ्घर्षशील महिलालाई पारिजात सङ्घर्षशील नारी सम्मान प्रदान गरिनु सबैका लागि खुशीको कुरा हो । पारिजात सङ्घर्षशील नारी सम्मान–२०७४ बाट सम्मानित हुनु भएकोमा उहाँमा हार्दिक बधाई ।   

प्रस्तुति : अमिका राजथला




पारिजात कला सम्मान– २०७४ बाट सम्मानित
शान्तकुमार राईको परिचय

नेपालको कला क्षेत्रमा एउटा सम्मानित नाम हो – शान्तकुमार राई । छोटो समयमै नेपाली कलाका क्षेत्रमा आफ्नो विशिष्ट कला–कृति प्रदर्शन गर्न सफल कलाकार राईको छवि निकै नै ओजपूर्ण रहेको छ । 

कलाकार शान्तकुमार राईको जन्म २०१८ साल भाद्र ५ गते इलामको जोगमाईमा भएको थियो । आमा दुर्गाकुमारी राई र बुबा हर्कबहादुर राईका सुपुत्र शान्तकुमार राई ललितपुरको सैँबु–४ स्थिति भैंसेपाटीमा स्थायी बसोबास गर्दै आउनु भएको थियो । उहाँकी श्रीमती कला राई र एक छोरा सुरज राई हुनुहुन्छ ।  

नेपालका सुप्रसिद्ध कलाकार तथा साहित्यकार लैनसिंह वाङ्गदेलद्वारा प्रशिक्षित कलाकार राईले नेपाल ललितकला क्याम्पसबाट बी.एफ्.ए.गर्नु भएको थियो । कृषि विकास बैंकमा कला अधिकृतका रूपमा कार्य गर्नुभएका राई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य हुनुहुन्थ्यो । नेपालका विभिन्न स्थान र समयमा दर्जनौ पटक आफ्ना कला–कृतिहरूको सफल प्रदर्शन गर्नुभएका कलाकार राईका कलाको प्रदर्शन विदेशमा समेत भएको थियो । उहाँका कलाको प्रदर्शन भारतका विभिन्न ठाउँमा विभिन्न पटक भएका थिए भने बेलायतमा समेत ६ पटक उहाँका कलाको प्रदर्शन भएको थियो । एकपटक बेल्जियममा समेत उहाँका कलाको प्रदर्शनी सम्पन्न भएको थियो । उहाँका कला–कृतिहरूको प्रशंसा विदेशमा समेत भएको थियो ।

कला–कृतिको प्रदर्शनीसँगै कलासम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीहरूमा समेत कलाकार राईको सहभागिता रहने गरेको थियो । उहाँले सन् १९९५ यता सात पटकभन्दा बढी राष्ट्रिय कार्यशाला गोष्ठीहरूमा आफ्नो सक््िरmय सहभागिता जनाउनु भएको थियो भने भारतको कलकत्तामा आयोजित कार्यशाला गोष्ठीमा समेत उहाँको सहभागिता रहेको थियो । उहाँ सन् १९८१ मा ललितकला क्याम्पसमा आयोजित कला प्रतियोगितामा प्रथम हुनु भएको थियो भने सन् १९९९ मा रङ्गलाल वाङ्गदेल बृहत् प्रदर्शनीमा पनि प्रथम बनेर पुरस्कृत हुनु भएको थियो ।     

कलाकार शान्तकुमार राई नेपाल ललितकला मञ्च (राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल) को संस्थापक अध्यक्ष तथा अध्यक्ष हुनुहुन्थ्यो भने ललितकला लोकतान्त्रिक अभियानका सदस्य हुनुहुन्थ्यो । उहाँ ‘नाफा’ र ‘न्यू आर्ट सर्कल’का सदस्य हुनुहुन्थ्यो भने ‘आर्टिस्ट एसोसिएशन आफ नेपाल’का महासचिव हुनुहुन्थ्यो । ‘नेपाल वाटर कलर सोसाइटी’का संस्थापक सदस्य रहनु भएका कलाकार राई ‘याग’ र नागरिक समाजका पनि सदस्य हुनुहुन्थ्यो । उहाँ मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको केन्द्रीय सचिवालय सदस्यका रूपमा समेत कार्यरत हुनुहुन्थ्यो  ।

कलाकार शान्तकुमार राईका कला–कृतिहरू विभिन्न ठाउँमा सङ्ग्रह गरिएका छन् । उहाँका कला सङ्ग्रह गरिएका केही प्रमुख ठाउँहरूमा प्रधानमन्त्री निवास – बालुवाटार, मल्ल होटल – लैनचौर, हीरेन्द्र बहादुर अमात्य निवास, सिक्किमका मुख्यमन्त्री निवास – भारत, नेपाल इन्भेस्टमेण्ट बैँक आदि रहेका छन् । अस्ट्रेलिया, बेलायत, जर्मनी, अमेरिका, जापान, बेल्जियम र भारतमा व्यक्तिगत रूपमा उहाँका कला सङ्ग्रह गरिएका छन् ।

शान्तकुमार राईको अन्तिम परिचय भनेको कलाकारकै परिचय थियो  । शुरुमा उहाँ गायक, अभिनेता र नृत्य कलाकार हुनुहुन्थ्यो । उहाँ गायनमा पोख्त हुने उद्देश्यले नेपाल ललितकला क्याम्पसमा पस्नु भएको थियो तर निस्कँदा ललितकलाका कलाकार भएर निस्किनु भयो ।  उहाँको नाम जस्तो थियो स्वभाव, बानीबेहोरा, चालचलन आदि पनि त्यस्तै नै शान्त किसिमको थियो । 

शान्तकुमार राई नेपालको प्रगतिशील सांस्कृतिक फाँटको चर्चित गीति–नाटक ‘सिम्मा’ का एकजना मूल कलाकार हुनुहुन्थ्यो । चल्तीको भाषामा ‘सिम्मा’का साइड हिरो ठूले शान्तकुमार राई नै हुनुहुन्थ्यो । उहाँले ‘सिम्मा’मा रायन, सुसन मास्के, कोमल धिताल र शरद पौडेलसँग गीत गाउनु भएको थियो र थप अभिनय तथा नृत्यसमेत गर्नुभएको थियो । उहाँ वि.सं.२०३५÷३६ सालदेखि नै ‘वेदना परिवार’का सदस्य हुनुहुन्थ्यो । २०५२÷५३ सालतिर ‘वेदना परिवार’बाट अलग भएर राष्ट्रिय जनसांस्कृतिक मञ्च, नेपालमा आइपुग्दा उहाँले गायन, अभिनय र नृत्य कलालाई छोडिसक्नु भएको थियो । उहाँ ललितकलाको एउटा उत्कृष्ट कलाकारको रूपमा चिनिनु भएको थियो ।  

कलाकार शान्तकुमार राई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रसिद्धि कमाएका साहित्यकार एवम् कलाकार लैनसिंह वाङ्देललको दोस्रो तथा अन्तिम चेलो समूहमा पर्न पाएकोमा खुबै गौरवान्वित अनुभव गर्नुहुन्थ्यो । त्यस समूहका अन्य भाग्यमानी सदस्यहरूमा शङ्करनाथ रिमाल, हरिबहादुर खड्का, नरेशसुन्दर सैँजु, टार्जन साम्पाङ्ग राई, रत्नकाजी शाक्य र जीवन राजोपाध्याय थिए । सोही चेला समूहले ‘न्यू आर्ट सर्कल’ समूह निर्माण गरेको थियो, जसको महासचिवमा शान्तकुमार राई छानिनु भएको थियो । पछि यो संस्थामा मिसिएर काम गर्न इच्छुक अरू कलाकारको अनुरोधमा ‘सोमा’ नामक समूह गठन भएको थियो, जसको नेतृत्वदायी ठाउँमा कलाकार शान्तकुमार राई नै हुनुहुन्थ्यो ।  
कलाकार शान्तकुमार राईसँग धेरै युवा कलाकारहरूको साथ थियो । उहाँ आफूभन्दा अग्रजलाई सम्मान गर्नुहुन्थ्यो भने  अग्रज पुस्ताले पनि उहाँलाई निकै माया गथ्र्यो । उहाँ कुनै पनि अधिकार प्राप्तिका आन्दोलनहरूमा सक््िरmय भएर लाग्नु हुन्थ्यो । नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा उहाँ सक््िरmयतापूर्वक सडकमा उत्रिनु भएको थियो । उहाँले दर्जनौ  अभियानहरूमा नेतृत्व दिनु भएको थियो । उहाँको नेतृत्वको सबैभन्दा पछिल्लो अभियान थियो लेट्स स्टार्ट (ीभतुक क्तबचत० नामक अभियान, जसको अवशेष अझैपनि बबरमहल हाइटको भित्तामा देख्न पाइन्छ । 
यसरी कलाकारितामा समर्पित कलाकार शान्तकुमार राई छोटो समयमै हामीलाई छोडेर बिदा हुनु भएको छ । मरणोपरान्त पारिजात स्मृति केन्द्रले पारिताज कला सम्मान–२०७४ द्वारा उहाँको सम्मान गरेको छ । एउटा कलाकारको योगदानलाई स्मरण गरेर यसरी सम्मान गरिएको कुराको सबैले मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ ।  

          प्रस्तुति : डा. विजय सुब्बा
       

पारिजात सृजन सम्मान प्राप्त गर्नेहरू                      

२०५१  कुन्ता शर्मा 
२०५२  इस्माली 
२०५३  पूर्णविराम 
२०५४  सुरेशकिरण मानन्धर 
२०५५  घनश्याम ढकाल 
२०५६  मित्रलाल पंज्ञानी 
२०५७  डा.ताराकान्त पाण्डेय 
२०५८  रोशन जनकपुरी (अरविन्दकुमार लाल) 
२०५९  कृष्णसेन ‘इच्छुक’ 
२०६०  वासुदेव अधिकारी 
२०६१  सुधा त्रिपाठी 
२०६२  हरिगोविन्द लुइँटेल 
२०६३  डा.जगदीशचन्द्र भण्डारी 
२०६४  बुँद राना 
२०६५  निनु चापागाई
२०६६  रमेशरञ्जन झा
२०६७  निभा शाह
२०६८  विमल निभा
२०६९  चैतन्य (मोहन वैद्य ‘किरण’)
२०७०  प्रदीप नेपाल
२०७१  पुरुषोत्तम सुवेदी
२०७२  मोहन दुवाल
२०७३  हेमनाथ पौडेल 
२०७४  डी.आर. पोखरेल 

पारिजात संघर्षशील नारी सम्मान पाउने नारीहरू 

२०५१  राममाया नेपाली 
२०५२  सुशीलादेवी चालिसे 
२०५३  मोतीदेवी श्रेष्ठ 
२०५४  नानीमैयाँ नकर्मी 
२०५५  राजेश्वरी सिंह 
२०५६  साधना प्रधान 
२०५७  चम्पा राना 
२०५८  मरनीदेवी शाह 
२०५९  शान्ता श्रेष्ठ
२०६०  छायाँदेवी पराजुली 
२०६१  बमकुमारी बुढामगर 
२०६२  शान्ता मानवी 
२०६३  सन्तोषी विक (सन्ध्या) 
२०६४  रामकुमारी झाँक्री
२०६५  कमला नहर्की
२०६६  डा. रेणु राजभण्डारी
२०६७  शान्ता चौधरी
२०६८  विष्णुदेवी श्रेष्ठ (मुक्ता)
२०६९  साहना प्रधान
२०७०  शान्तिकुमारी राई
२०७१  मिठाईदेवी विश्वकर्मा
२०७२  मसिनीमाया स्याङ्गवा
२०७३  शशी श्रेष्ठ 
२०७४  अष्टलक्ष्मी शाक्य


पारिजात कला सम्मान प्राप्त गर्ने कलाकार 

२०५८  स्व. मोहन खड्का 
२०५९  स्व. कुलमानसिंह भण्डारी 
२०६०  हरि दर्शनधारी 
२०६१  रामेश 
२०६२  जेबी टुहुरे 
२०६३  खुशीराम पाख्रिन 
२०६४  किरण मानन्धर
२०६५  रामकृष्ण भण्डारी
२०६६  मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७  वदन शर्मा
२०६८  इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर
२०६९  नारदमणि हार्तम्छाली ‘कलाङ’
२०७०  राजन काफ्ले
२०७१  जीवन शर्मा 
२०७२   रविन सायमि 
२०७३   श्याम तमोट
२०७४  शान्तकुमार राई 



पारिजात बाल–साहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्ने स्रष्टा 

२०५७  रवीन नेपाली 
२०५९  शाश्वत पराजुली
२०६०  दोर्जे छिरिङ लेप्चा
२०६२  लक्ष्मी उपे्रती 
२०६३  सुकुम शर्मा
२०६५  अनन्तप्रसाद वाग्ले
२०६६  सौरभकिरण श्रेष्ठ
२०६७  अमर न्यौपाने
२०६८  माधव सयपत्री
२०६९  विजयराज आचार्य


पारिजात बाल–साहित्य पाण्डुलिपि प्रशंसापत्र प्राप्त गर्नेहरू 

सङ्गीत श्रोता
सविना सिन्धु
केदार श्रेष्ठ

पारिजात बाल–साहित्य सम्मान प्राप्त गर्ने साहित्यकार

२०७०  शान्तदास मानन्धर
२०७१  शारदारमण नेपाल 
२०७२  विनयकुमार कसजू 
२०७३  विजय चालिसे 
२०७४ प्रभात सापकोटा 


पारिजात स्मृति केन्द्रका पदाधिकारीहरु 

अध्यक्ष – रायन                            
सदस्य सचिव – स्नेह सायमि
कोषाध्यक्ष –दिल वरदान
 िसदस्य – लक्ष्मी माली
भसदस्य – डा. महेश मास्के 
सदस्य – सुकन्या वाइवा
सदस्य– पद्मरत्न तुलाधर
सदस्य – इन्दिरा दली 
सदस्य – मातृका पोखरेल 
सदस्य – शार्दूल भट्टराई 
सदस्य – वदन शर्मा 


पारिजात स्मृति केन्द्र 
पारिजात मार्ग, म्हेपी, काठमाडौँ 
फोन : ४३५८१८४



No comments:

Post a Comment