खोटाङ, ११-१२ असोज, २०७६ 
खोटाङको दिक्तेलमा आयोजना गरिएको समाजवादी यथार्थवाद : परिचय र मान्यता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक सङ्घ खोटाङले शनिबार आयोजना गरेको एक दिने विचार गोष्ठी सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको गोष्ठीमा ‘समाजवादी यथार्थवाद’ शीर्षकमा डाक्टर धनप्रसाद सुवेदीले लेख्नुभएको कार्यपत्रमाथि छलफल गरिएको थियो । साहित्यकार बम बानियाँले पढेर प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि वेदीकुमार राई र हेमविक्रम राईले टिप्पनी गर्नुभएको थियो ।
कार्यपत्रमा समाजवादी साहित्य के हो ?, कस्तो हुनुपर्छ ?, समाजवाद भनेको के हो ? लगायतका विषय समेटिएको थियो । पारिजात स्मृति केन्द्रका सदस्य मातृका पोखरेलको अध्यक्षता तथा प्रलेसका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर जीबेन्द्रदेव गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’, र दुर्गाजयन्ती राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जनवादी गायक जीवन शर्मा, उपन्यासकार सरल सहयात्री लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपन्यासकार सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुङ्गा’को परिचर्चा समेत गरिएको थियो । २०७५ सालमा प्रकाशित उपन्यासमाथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरे र डिल्ली नाकाराले परिचर्चा गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन प्रसिद्ध जनवादी गायक जीवन शर्माको प्रस्तुति रहेको थियो । पहिलो पटक खोटाङ आउनुभएका जनवादी गायक शर्माले सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिदैन मलाई सिसाको महल लगायतका दर्जन बढी गीत प्रस्तुत गर्नुभएको थियो ।
वि.सं. २०१६ चैत २६ गते बाग्लुङमा जन्मनुभएका जनवादी गायक शर्मा खोटाङ आउनुभएपछि जिल्लामा छुट्टै साँगीतिक माहोल सिर्जना भएको छ । दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा एम.ए गरेर पनि साधारण जीवन बिताइरहनुभएका जनवादी गायक शर्माले २०४७ सालमा जनसाँस्कृतिक योद्धा सम्मान पाउनुभएको थियो ।
  
  
खोटाङको दिक्तेलमा आयोजना गरिएको समाजवादी यथार्थवाद : परिचय र मान्यता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक सङ्घ खोटाङले शनिबार आयोजना गरेको एक दिने विचार गोष्ठी सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको गोष्ठीमा ‘समाजवादी यथार्थवाद’ शीर्षकमा डाक्टर धनप्रसाद सुवेदीले लेख्नुभएको कार्यपत्रमाथि छलफल गरिएको थियो । साहित्यकार बम बानियाँले पढेर प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि वेदीकुमार राई र हेमविक्रम राईले टिप्पनी गर्नुभएको थियो ।
कार्यपत्रमा समाजवादी साहित्य के हो ?, कस्तो हुनुपर्छ ?, समाजवाद भनेको के हो ? लगायतका विषय समेटिएको थियो । पारिजात स्मृति केन्द्रका सदस्य मातृका पोखरेलको अध्यक्षता तथा प्रलेसका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर जीबेन्द्रदेव गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’, र दुर्गाजयन्ती राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जनवादी गायक जीवन शर्मा, उपन्यासकार सरल सहयात्री लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपन्यासकार सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुङ्गा’को परिचर्चा समेत गरिएको थियो । २०७५ सालमा प्रकाशित उपन्यासमाथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरे र डिल्ली नाकाराले परिचर्चा गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन प्रसिद्ध जनवादी गायक जीवन शर्माको प्रस्तुति रहेको थियो । पहिलो पटक खोटाङ आउनुभएका जनवादी गायक शर्माले सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिदैन मलाई सिसाको महल लगायतका दर्जन बढी गीत प्रस्तुत गर्नुभएको थियो ।
वि.सं. २०१६ चैत २६ गते बाग्लुङमा जन्मनुभएका जनवादी गायक शर्मा खोटाङ आउनुभएपछि जिल्लामा छुट्टै साँगीतिक माहोल सिर्जना भएको छ । दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा एम.ए गरेर पनि साधारण जीवन बिताइरहनुभएका जनवादी गायक शर्माले २०४७ सालमा जनसाँस्कृतिक योद्धा सम्मान पाउनुभएको थियो ।
==================================================
विचारपत्र 
समाजवादी यथार्थवाद : परिचय र मान्यता
डा. धनप्रसाद सुवेदी
१. विषय सन्दर्भ
 प्रकृति, जीवन, समाज, संस्कृति आदिलाई हेर्ने, बुझ्ने र बदल्ने विषयमा विभिन्न सिद्धान्त वा वादहरू जन्मिने गरेका छन् । भइरहेका सिद्धान्तबाट जीवन र जगत्प्रतिको हेराइ, बुझाइमा चित्त नबुझेपछि चिन्तकहरू नयाँ सिद्धान्तको खोजी गर्छन् र नयाँ नयाँ सिद्धान्तको निर्माण हुन्छ । एउटा वर्गको हितमा जन्मिएका सिद्धान्तले अर्को वर्गको हित गर्न सक्तैन । त्यसैले पनि आफ्नो वर्गको स्वार्थमा नयाँ नयाँ सिद्धान्तहरूको खोजी भइरहन्छ । यसरी नयाँ सिद्धान्त जन्मिने गर्छन् । साहित्य मानिसको सिर्जना भएकाले मानव समाजमा प्रचलित मूल्य, मान्यता, दर्शन, सिद्धान्त आदिको प्रभाव साहित्यमा पर्नु स्वाभाविक हो । त्यसैले जीवन जगत्लाई बुझ्ने, व्याख्या गर्ने अनेक सिद्धान्तहरूको प्रभाव साहित्यमा स्वतः पर्न जान्छ । यसका साथै साहित्यकै सन्दर्भमा मात्रै पनि विभिन्न सिद्धान्तहरू छन् । त्यस्ता सिद्धान्तहरूमध्ये समाजवादी यथार्थवाद पनि एक हो । यो मार्क्सवादी दर्शनमा आधारित साहित्यसम्बन्धी एउटा सशक्त सिद्धान्त हो । यहाँ समाजवादी यथार्थवादका बारेमा सङ्क्षेपमा चर्चा गरिएको छ । 
२. नामकरण र ऐतिहासिक सन्दर्भ
‘समाज’ शब्दमा ‘वादी’ जोडिएर ‘समाजवादी’ विशेषण शब्दको निर्माण हुन्छ । यसको अर्थ समाजवादलाई आत्मसात् गर्ने भन्ने हुन्छ । त्यस्तै ‘यथार्थ’ शब्दमा ‘वाद’ जोडिएर ‘यथार्थवाद’ नाम शब्दको निर्माण हुन्छ । सिङ्गो समाजवादी यथार्थवाद पदावलीले समाजवादमा आधारित यथार्थवाद भन्ने अर्थ दिन्छ । यथार्थवादका विभिन्न प्रकार छन्, तीमध्ये समाजवादी चाहिँ भन्ने यस पदावलीले बुझाउँछ । 
  यथा + अर्थ = यथार्थ + ‘वाद’ बाट ‘यथार्थवाद’ शब्दको निर्माण भएको हो । यसको शाब्दिक अर्थ वास्तविकतामा आधारित सिद्धान्त वा दर्शन भन्ने हुन्छ । अङ्ग्रेजी Realism शब्दको नेपाली रूपान्तरण यथार्थवाद हो । यथार्थवादको अर्थ समाज र जीवनको यथावत् चित्रण हो । एरिस्टोटलको अनुकरण सिद्धान्त, अगस्ट कोम्तेको भाववादी चिन्तन, टेनको जाति, क्षण र युग सम्बन्धी विचारधारा, डार्विनको विकाससम्बन्धी सिद्धान्त, फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्त,  माक्र्सको द्वन्द्वात्मक भौतिकवाद आदि सिद्धान्तका पृष्ठभूमिमा यथार्थवादको जन्म भएको हो । 
 यथार्थवादले वस्तु जगत्लाई वास्तविक मानी सामाजिक वस्तुको वस्तुपरक अभिव्यक्तिमा अत्यधिक जोड दिन्छ।  भावुक लेखन र काल्पनिक सत्यापनको विरोध, फोटोग्राफिक चित्रणमा विशेष जोड, स्थानीय व्यक्ति, घटना र परिदृश्य आदिको यथावत् अङ्कन, जीवन–जगत्का राम्रा, नराम्रा, उच्च, हीन आदि सम्पूर्ण पक्षको हुबहु उतार गर्ने र निष्पक्ष अभिव्यक्तिमा जोड, आदर्शवादी, स्वच्छन्दतावादी, नियतिवादी, भाग्यवादी, ईश्वरवादी, नीतिवादी तथा औपदेशिक विषयवस्तुप्रति उपेक्षा र अविश्वास, सामाजिक भाषिका, क्षेत्रीय भाषिका, आञ्चलिक बोली र छूद्र भाषाको पनि प्रयोग, विश्वसनीयताको निर्वाह गर्ने खालका विषयवस्तु, शिल्प, शैली, भाषा, जीवनचर्या, दृश्य, परिदृश्य, समय आदिको प्रयोग, कस्तो हुनुपर्छको दृष्टिले नभई के र कस्तो छ भन्ने आधारमा विषयवस्तुको प्रस्तुति, मनोरञ्जकता एवम् कलात्मकतातर्फ भन्दा पनि यथातथ्य निरूपणमा जोड, जीवनको भव्य र आदर्श रूपको खोजी नगरी वास्तविक र हीन पक्षको चित्रणमा जोड जस्ता प्रवृत्ति यथार्थवादका मुख्य प्रवृत्ति हुन् । 
  साहित्यमा यथार्थवादको सुरुआत सन् १८३० तिरका जर्मन साहित्यबाट भएको मानिन्छ । सन् १८५७ मा प्रकाशित स्याम्ल्फेर (१८२१-१८८९) को Le realism शीर्षक लेखलाई यथार्थवादको घोषणा पत्र मानिन्छ । यस वादको खास विकास भने उपन्यास विधाबाट भएको देखिन्छ । फ्रान्सका उपन्यासहरूमा यथार्थवादले राम्रो प्रश्रय पाएको देखिन्छ । पछि यो मान्यता रुसतिर विकास हुँदै गयो । नर्वेका नाटककार हेनरिक इब्सेनको पुतलीघर नाटकबाट यो मान्यता नाट्य साहित्यमा प्रवेश ग¥यो । विस्तारै सबै विधामा र संसारभर फैलियो । नेपालमा यो युरोपबाट बङ्गाली र हिन्दी साहित्यको बाटो हँुदै वि. सं. १९९० को दसकमा प्रवेश गरेको हो । 
  समय क्रममा यथार्थवादमा विभिन्न धारहरु देखापरे, जस्तै : समाजवादी यथार्थवाद, सामाजिक यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, आदर्शोन्मुख यथार्थवाद, ऐतिहासिक यथार्थवाद, जादुगरी यथार्थवाद, अन्धकारमूलक यथार्थवाद, प्रदूषणमूलक यथार्थवाद आदि । यीमध्ये सबैभन्दा उर्बर र उपयोगी धारा समाजवादी यथार्थवाद हो । 
समाजवादी यथार्थवाद मार्क्सवादी सिद्धान्तमा आधारित छ । यो मार्क्सवादी साहित्यिक सिद्धान्तका रूपमा स्थापित रहेको छ । अर्को शब्दमा भन्दा साहित्यमा प्रयोग हुने मार्क्सवादलाई समाजवादी यथार्थवाद भनिन्छ । मार्क्सवादी तरिकाबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यता वा सिद्धान्तलाई नै साहित्यका सन्दर्भमा समाजवादी यथार्थवाद भनिन्छ । यसलाई कतिपयले ‘प्रगतिशील’ र अरु थरीले चाहिँ ‘प्रगतिवादी’ पनि भन्छन् । ‘प्रगति’ भनेको उद्देश्यमूलक वा व्यवस्थित ढङ्गको चाल, हिँडाइ वा अगाडितिरको यात्रा, अगाडि जाने विचार हो । ‘प्रगति’ शब्दमा ‘शील’ उपसर्ग लागेर ‘प्रगतिशील’ शब्दको निर्माण हुन्छ । यसको अर्थ प्रगतितिर उन्मुख वा प्रगतिको गुण भएको, अगाडितिर जाने गुण भएको सोचाइ वा चिन्तन भन्ने हुन्छ । अहिले जे छ, त्यसैमा सीमित नभई यथास्थितिमा रहेका अपुग, खराबीहरूको अन्त्य गर्दै अझ राम्रो र उन्नत अवस्थातर्फ उन्मुख हुने गुण नै प्रगतिशीलता हो । साहित्यमा प्रगतिशीलताको सन्दर्भ जो सुकैले उठाउन सक्छन् । अहिले भइरहेको अथवा यथास्थितिमा रहेका कमी, कमजोरी, खराबी, विसंगति, कुरीति, भ्रष्ट्राचार, शोषण आदिप्रति सामान्य असन्तुष्टि राख्दा मात्र पनि प्रगतिशीलता हुन्छ । मार्क्सवादी मान्यतालाई अस्वीकार गर्ने सामान्य सुधारवादी वा यथास्थितिबाट अगाडि बढ्न चाहने जो सुकै प्रगतिशील हुन सक्छन्, सबै प्रगतिशील समाजवादी यथार्थवादी हुँदैनन् । 
हुन पनि प्रगतिशील सापेक्षित कुरा हो । राणाकालमा पढ्न लेख्न पाउनु नै प्रगतिशीलता हुन्थ्यो । पञ्चायत कालमा बहुदलको कुरा नै प्रगतिशीलता हुन्थ्यो । दास युगमा सामन्तवाद प्रगतिशील हुन्थ्यो । सामन्तवादमा पुँजीवाद प्रगतिशील हुन्थ्यो । पुँजीवादमा प्रगतिशीलता भनेको समाजवाद हो । अहिले पहिचानलाई प्रगतिशील भनिरहेका छौँ र पहिचानलाई नामेट गर्ने व्यवस्था भन्दा पहिचानको रक्षा हुनु प्रगतिशील कुरा हो । स्वदेशमै अरु सरह हुन पाऊँ भन्ने नारा अहिलेलाई प्रगतिशील हो । भोलि सबैले आफ्नो पहिचानको उपभोग गर्न पाउने भएपछि मानिस आफ्नो जाति र राष्ट्र भन्दा पनि फराकिलो हुन चाहन्छ, ऊ अन्तराष्ट्रिय मानव बन्न खोज्छ, त्यति बेला अहिले प्रगतिशील भएको पहिचानको नारा यथास्थितिवादी हुन जान्छ, प्रतिगामी (पछाडि फर्किने) पनि हुन सक्छ । मान्छेमा अझ अगाडि अझ अगाडि जाने स्वभाव हुन्छ, त्यसैले प्रगतिशीलता पनि समयक्रममा फेरिँदै जान्छ । त्यसैले माक्र्सवादी साहित्यलाई प्रगतिशील भनेर पुग्दैन भन्ने मान्यता तर्कसम्मत देखिन्छ । 
 समाजवादी यथार्थवादलाई प्रगतिवाद पनि भनिएको पाइन्छ । ‘प्रगति’ शब्दमा ‘वाद’ जोडिएर प्रगतिवाद शब्द बन्छ । वादले खास मान्यतामा आधारित भन्ने बुझाउँछ । यसले साहित्यमा माक्र्सवादी विचारको पक्षपोषण गर्छ । त्यसैले प्रगतिवाद शब्दलाई समाजवादी यथार्थवादको पर्यायवाची वा समानार्थी शब्दका रुपमा प्रयोग गरिएको पाइन्छ । समाजवादी यथार्थवाद वा प्रगतिवादले साहित्यलाई वर्गीय आधारमा हेर्छ । साहित्य निर्वर्गीय हुन्छ भन्ने मान्यतालाई यसले अस्वीकार गर्छ । यो माक्र्सवादी चिन्तनमा आधारित भएकाले यसले संसारका उत्पीडितहरू एक हौँ भन्छ । यसले सबै प्रकारका उत्पीडनबाट मुक्ति हुनुपर्छ भन्छ र सबै खाले विभेद, शोषण, उत्पीडनको विरोध गर्छ । यसले समाजवाद हुँदै साम्यवादसम्मको यात्रालाई लक्ष्य बनाउँछ । यसले शोषणरहित, स्वतन्त्र र अन्तर्राष्ट्रियतावादी मानवको परिकल्पना गर्छ । 
३. जनवादी तथा समाजवादी साहित्य  
प्रजातन्त्र (डेमोक्रेसी) को पर्यायवाची शब्द हो– जनवाद । नेपालमा खासगरी वामपन्थीहरुले प्रजातन्त्रका सट्टामा ‘जनवाद’ शब्द प्रयोग गरेको पाइन्छ । माओको नेतृत्वमा सम्पन्न चिनियाँ क्रान्तिलाई ‘न्यु डेमोक्रेसी’ भनियो र त्यसको नेपालीमा ‘नौलो जनवादी’ भनियो । रुसमा भएको क्रान्तिलाई चाहिँ समाजावादी क्रान्ति भनियो । रुसमा पुँजीवादको विकास भएको थियो र सोझै समाजवादमा जान सकिन्छ भन्ने लेनिनको व्याख्या अनुसार त्यस क्रान्तिलाई समाजवादी क्रान्ति भनियो । त्यहाँको क्रान्तिको नेतृत्व मजदुर वर्गले गरेका थिए । चीनमा पुँजीवादको विकास भएको थिएन । त्यहाँ पहिले सामान्तवाद (कृषिमा आधारित अर्थतन्त्र) का विरुद्ध लड्नु पथ्र्यो र किसान वर्गको नेतृत्वमा क्रान्ति भयो । त्यसलाई नयाँ जनवादी (नौलो प्रजातान्त्रिक) क्रान्ति भनियो । चीनको परिस्थितिसँग मिल्दोजुल्दो अवस्था भएकाले नेपालमा हुने क्रान्तिलाई नौलो जनवादी नामकरण गरियो र यही पृष्ठभूमिमा नेपालमा माक्र्सवादी साहित्यलाई जनवादी साहित्य पनि भन्न थालियो । जनवादी लेखन भनेको जनताको हक अधिकार प्राप्तिको लेखन थियो । अर्को अर्थमा भन्दा जनवादी लेखन पनि समाजवादी यथार्थवादी लेखन नै थियो । सामन्तवादबाट पुँजीवादी युगतर्फको यात्राका अवधिमा लेखिने समाजवादी यथार्थवादी लेखनको अर्थमा हामीकहाँ जनवादी लेखनको नामकरण भएको हो । 
   मार्क्सवादी लेखनको सुरुआत फ्रान्स, जर्मन, रुस हुँदै विकास भएको हो र त्यसको जन्म पुँजीवादी लेखनको विरोधमा भएको हो । नेपालमा भने पुँजीवादको विकास नभएकाले समाजवादी लेखनको सट्टा जनवादी लेखनको अवधारणा विकास भएको देखिन्छ । सामन्तवाद रहँदासम्म पुँजीवाद नै प्रगतिशील हुने हुनाले त्यस अवस्थामा पुँजीवादको विरोध साहित्यमा नआउन सक्छ । तर पुँजीवादको विकास भएपछि त्यसले पनि आम मानिसको भलो गर्दैन र त्यसपछिको लेखन समाजवादी हुन थाल्छ । पछिल्लो समयमा नेपालमा समाजवादी लेखनको कुरा उठेको छ । राजतन्त्रको अन्त्यपछि सामन्तवाद अन्त्य भयो अब पुँजीवादी युगको सुरुआत भयो भन्ने आधारमा समाजवादी लेखनको चर्चा भएको देखिन्छ । 
 समाजवादी लेखन भनेको समाजवादी यथार्थवादी लेखनकै अर्को नाम हो । समाजवादी लेखन नेपालका सन्दर्भमा नौलो जस्तो लागेको हो । युरोप अमेरिका जस्ता पुँजीवादी देशमा भने १९ औँ शताब्दीमै यो लेखन सुरु भइसकेको हो । पुँजीवादी शोषण उत्पीडनका विरुद्ध लेख्नु र समाजवादको प्राप्तिका लेख्नु नै समाजवादी लेखन हो 
४. समाजवादी यथार्थवादको जग : माक्र्सवादी सौन्दर्य चिन्तन 
   राम्रो, मनोहर वा मनलाई आनन्द दिने अवस्थालाई सौन्दर्य भनिन्छ । अभिरुचि वा आस्वादको अवस्था नै सौन्दर्य हो । सौन्दर्य मूलतः भावनात्मक कुरा हो तर यो वस्तुजगत्बाटै प्राप्त हुन्छ । कुनै वस्तु वा क्रियाद्वारा मानिसको मन सन्तुष्ट हुने, मनमा आनन्द हुने अवस्था नै सौन्दर्य हो । सौन्दर्यशास्त्र भनेको सौन्दर्यको खोजीनिती गर्ने शास्त्र वा विज्ञान हो । कहाँबाट सौन्दर्य आउँछ ? कसरी सौन्दर्य आउँछ ? कुन कुरा सुन्दर हो ? भन्ने विषयको खोजी गर्ने शास्त्र नै सौन्दर्यशास्त्र हो । व्यापक अर्थमा हेर्दा प्रकृति र कलामा अन्तर्निहित सौन्दर्यको अध्ययन गर्ने शास्त्र नै सौन्दर्यशास्त्र हो । तर सौन्दर्यशास्त्र भन्ने शब्द मूलतः कला साहित्यका क्षेत्रमा रूढ जस्तै भएको छ । सौन्दर्यशास्त्र भन्नासाथ कला साहित्यको सौन्दर्यको विज्ञानका अर्थमा बुझिने गरिएको छ । साहित्य कलाबाट भावक, दर्शक वा पाठकको मन छुने, उसलाई आनन्द दिने विषय नै सौन्दर्य भनिन्छ र त्यो सौन्दर्य कसरी प्राप्त हुन्छ भन्ने शास्त्रलाई सौन्दर्यशास्त्र भन्ने गरिन्छ । अर्को तरिकाले भन्दा साहित्य वा कलाको सिर्जनाबाट सर्जक र भावक वा पाठकले आनन्दको अनुभूति गर्छ, एक प्रकारले सन्तुष्टि प्राप्त गर्छ त्यो नै त्यस कला वा साहित्यको सौन्दर्य हो । त्यस्तो सौन्दर्यको अध्ययन गर्ने विज्ञान वा शास्त्र नै सौन्दर्यशास्त्र हो । सौन्दर्यशास्त्रका अनेक भेद छन् । तीमध्ये माक्र्सवादी सौन्दर्यशास्त्र पनि एक हो । समाजवादी यथार्थवाद माक्र्सवादी सौन्दर्य चिन्तनमा आधारित छ । 
  कला साहित्यको उत्पत्ति मान्छेको चेतनाको उत्पत्तिसँगै भएको मानिन्छ । भाषा र लिपिको आविष्कारपछि कला साहित्यले मूर्त रूप लिन थाल्यो । कला साहित्यमा रहेको सौन्दर्यले नै सर्जक तथा पाठक÷भावक÷दर्शक यसतर्फ आकर्षित हुन पुगे । कला साहित्यका बारेको चिन्तन धेरै अघिदेखि भएको पाइन्छ । पूर्वमा भरतमुनि (इसापूर्व पहिलो शताब्दी) र पश्चिममा खासगेर प्लेटो (४२७–३४७ इ. पू.) बाट कला सम्बन्धी चिन्तनको सुरुआत भएको पाइन्छ । प्लेटोले साहित्य कलालाई सौन्दर्यशास्त्रका रूपमा नभएर नीतिशास्त्रका रूपमा चर्चा गरे । प्लेटोको विचारमा टेकेर उनका शिष्य एरिस्टोटल (३८४–३२२ इ. पू.) ले अनुकरण र विरेचन जस्ता महत्त्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गरे । उनले कलालाई प्रकृतिको सिर्जनात्मक अनुकरणका रूपमा व्याख्या गरे । होरेस (इ.पू. ६५–५), प्लोटिनस (इ.२०५– २७०), सेन्ट अगस्टाइन (इ.३५३– ४३०) आदि चिन्तकहरूले साहित्यमा सत्यं, शिवम् र सुन्दरम्का साथै नीति सापेक्षताको वकालत गरे । युरोपेली पुनर्जागरण सँगै बुद्धिवादको विकास भयो । देकार्तो (इ.१५९६– १६५०) ले साहित्य कलाको आनन्दलाई बौद्धिक आनन्दका रूपमा व्याख्या गरे । बुद्धिवादी चिन्तकहरूका विपरीत अनुभववादी चिन्तकहरूले साहित्य कलालाई कल्पनाको सुखका रूपमा व्याख्या गरे ।
यिनै पृष्ठभूमिमा अठारौँ शताब्दीमा कला साहित्यको सौन्दर्य दर्शन अथवा सौन्दर्यशास्त्रको अवधारणाको जन्म हुन पुग्यो । अंग्रेजीमा सौन्दर्यशास्त्रलाई एस्थेटिक्स (Aesthetic)  भनिन्छ । यो शब्दको प्रयोग सर्वप्रथम अलेक्जेन्डर बाउमगार्टेन (इ. १७१४– १७६२) बाट भएको हो । यसलाई आधुनिक अर्थमा प्रतिस्थापित गर्ने काम भने हेगेल (इ.१७७० - १८३१) बाट भएको मानिन्छ  । हेगेलले सौन्दर्यशास्त्रलाई सम्पूर्ण कलाको दर्शनका रूपमा स्थापित गरे । त्यसैले उनलाई आधुनिक सौन्दर्यशास्त्रका जन्मदाता पनि भनिन्छ । सौन्दर्यशास्त्रलाई कला साहित्य विशेषको अलग्गै शास्त्रका रूपमा स्थापित गर्ने काममा क्रोचे (इ. १८६६ – १९५२) को महत्त्वपूर्ण योगदान रहेको छ । क्रोचेले अभिव्यञ्जनावाद सिद्धान्तको प्रतिपादन गरे । उनको सिद्धान्त अनुसार मूल कला मानिसको मनमा अभिव्यञ्जित हुन्छ र स्रष्टाको मनमा जन्मिएको वास्तविक कलालाई भाषा, रङ आदिका माध्यमबाट प्रकट गर्नु कलाको बाह्य प्रकटीकरण मात्र हो । १९ औँ शताब्दीको अन्त्यतिर नीतिवादी सिद्धान्तको विरोध गर्दै कला कलाका लागि भन्ने सिद्धान्त जन्मियो । यसले कला साहित्यको सौन्दर्य त्यसको रूप पक्षमा हुन्छ भन्ने मान्यता अगाडि सा¥यो । मार्क्सवादको उदयसँगै सौन्दर्य चिन्तनमा ठुलो परिवर्तन आयो । मार्क्सवादी चिन्तकहरूले साहित्यमा अन्तर्वस्तु (भाव पक्ष) र रूप गरी दुई पक्ष हुन्छन्, त्यसमा अन्तर्वस्तु प्रधान हुन्छ, यद्यपि रूप पक्षको पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने मान्यता स्थापित गरे । उनीहरूका अनुसार कला साहित्यको सौन्दर्य भनेको अन्तर्वस्तु र रूपको समुचित संयोजनबाट सिर्जना हुन्छ (चैतन्य, २०६९ : ४–५) । यसरी मार्क्सवादीहरू आएपछि सौन्दर्यशास्त्र सापेक्ष हुन्छ र कला साहित्य समाजभन्दा भिन्न हुन सक्तैन भन्ने मान्यता स्थापित भयो । सौन्दर्यशास्त्रका बारेमा व्यापक बहसको थालनी पनि माक्र्सवादीहरूबाटै भयो ।  
मार्क्सवादको उदयसँगै सौन्दर्यलाई बुझ्ने कुरामा मूलतः दुई प्रकारका मान्यताहरू प्रचलित भए् : अधिभूतवादी र द्वन्द्ववादी । अधिभूतवादीहरूका अनुसार कुनै वस्तु जन्मजात सुन्दर हुन्छ वा ईश्वरले नै उसलाई सुन्दर बनाइदिएको हुन्छ अनि सुन्दर भन्ने कुरा स्थिर, सार्वभौम र निरपेक्ष कुरा हो । द्वन्द्ववादीहरू भने सुन्दरलाई गतिशील, परिवर्तनशील र सापेक्ष हुन्छ भन्ने मान्छन् । द्वन्द्ववादी सौन्दर्य चिन्तनको जग मार्क्सवाद हो । मार्क्सवादले मान्छेका श्रम प्रक्रियालाई सौन्दर्य मूल्यसँग जोड्नु पर्छ भन्ने मान्छ । माक्र्सवादका अनुसार श्रममा सौन्दर्य हुन्छ, श्रमले मान्छेका सौन्दर्यात्मक आवश्यकताको परिपूर्ति गर्छ (चैतन्य, २०६९ : ६) । यस अनुसार मान्छे एक सक्रिय कर्ता हो, उसले आफ्ना सारा बाधा बन्धन तोड्न सक्छ र स्वतन्त्र हुन सक्छ । त्यही कर्ता हुन सक्ने, बाधा बन्धन तोड्न सक्ने गुण र क्रिया नै सुन्दर हुन्छ भन्ने मार्क्सवादी मान्यता रहेको छ । मार्क्सवादले सबै प्रकारका उत्पीडन र विभेदको अन्त्य हुनु र सदैव अगाडितिर अग्रसर भइरहनु नै सौन्दर्य हो भन्छ  । 
मार्क्सवादका अनुसार कुन साहित्य कति सुन्दर र कुन कति कुरूप छ भन्ने मापदण्ड पनि वर्गीय उपयोगिता र अनुभूतिका आधारमा नै निर्धारण हुन्छ । मार्क्सवादीहरू जनताको स्वतन्त्रता र मुक्तिसँग जोडिएको साहित्यलाई सुन्दर साहित्य मान्दछन् । भौतिक सत्ताभन्दा परको कुनै पनि तŒवलाई अस्तित्वमय नस्विकार्ने मार्क्सवादीहरूले वस्तुगत सत्तालाई नै सौन्दर्य तŒवको आधार मानेका छन् । सौन्दर्य भनेको वस्तुगत सत्य हो तर त्यो निरपेक्ष सत्य भने होइन । वस्तुगत उपयोगिताका सापेक्षतामा सुन्दरतालाई बुझ्नु पर्छ र उपयोगी वस्तुले नै मान्छेको सौन्दर्य चेतनामा वृद्धि गर्दै आएको छ भन्ने माक्र्सवादी मान्यता देखिन्छ (चापागाईं, २०६७ : ७४) । 
 सौन्दर्य भनेको कुनै दिव्य र परलौकिक जादुमय वस्तु होइन । यो मानव जीवन र उसका इन्द्रियहरूको अनुभूतिजन्य यथार्थ हो । मानव उपयोगिताका दृष्टिले कुनै वस्तुमा सौन्दर्य हुन्छ । एउटा सुन्दर वस्तुमाथि सबैको एकै किसिमको प्रतिक्रिया नहुन सक्छ । हरेक व्यक्तिका सौन्दर्य संवेदनाले वस्तुको सौन्दर्यलाई आ आफ्ना तरिकाले हेर्न र बोध गर्न सक्छ । हरेक व्यक्ति कुनै एक वस्तुको सौन्दर्य संवेदनाबाट तृप्त नहुन सक्छ  । आदर्शवादीहरू सौन्दर्यलाई ईश्वरीय तŒव ठान्दछन् र त्यसलाई निरपेक्ष दृष्टिले हेर्न चाहन्छन् । मार्क्सवादीहरू त्यसलाई सापेक्षिक र द्वन्द्वात्मक रूपले हेर्दै कुरूपताका सापेक्षतामा सुन्दरताको व्याख्या गर्छन् । व्यक्तिले कहिल्यै कुरूप वस्तु नदेखेको भए सौन्दर्यलाई जान्ने नै थिएन । माक्र्सवादीहरू सौन्दर्य चेतना पनि परिवर्तनशील हुन्छ भन्ने मान्छन् । उनीहरूका अनुसार नयाँ उत्पादक प्रणालीको विकाससँगै मानिसका सुन्दरता सम्बन्धी धारणाहरू फेरिन्छन् र ती नयाँ सामाजिक व्यवस्था अनुकुल बन्छन् । 
मार्क्सवादी सौन्दर्यशास्त्रले सौन्दर्यको उत्पत्ति मानवीय सामाजिक श्रम प्रक्रियाबाट भएको मान्छ । श्रमले आत्मगत र वस्तुगत पक्षका बिचमा एकत्व स्थापित गर्छ । मार्क्सवादका अनुसार वस्तुगत र आत्मगत दुवै पक्षका बिच द्वन्द्वात्मक एकत्वमा नै सौन्दर्य हुन्छ । यस अनुसार सौन्दर्यबोध ऐतिहासिक रूपमा विकसित मानिसको सामाजिक सम्बन्धमा आधारित हुन्छ (चैतन्य, २०६९ : ५) । त्यसैले मार्क्सवादी सौन्दर्यशास्त्र अरु सबै सौन्दर्यशास्त्रका भन्दा बढी वस्तुवादी, यथार्थपरक र उपयोगी छ ।   
मार्क्सवादी सौन्दर्यशास्त्रले जीवनका वास्तविकता, संघर्ष, परिवर्तनको सही बोध र विश्लेषणका साथै श्रमजीवी वर्गीय पक्षधरता भएको सिर्जनाबाट नै सर्जक र भावकले सही रूपमा सौन्दर्य बोध गर्न सक्छन् भन्ने मान्छ । गतिशील यथार्थ, वर्ग संघर्ष र श्रमजीवी वर्गीय पक्षधरता माक्र्सवादी सौन्दर्यशास्त्रका आधारभूत पक्ष हुन् । जीवन र समाजलाई जड नभएर निरन्तर परिवर्तनशील मान्ने, यस्तो परिवर्तनको कारण वर्गसंघर्षलाई मान्ने र त्यस संघषमा श्रमजीवी वर्गको पक्ष लिने काम माक्र्सवादी सौन्दर्यमा मूलभूत विषय हुन् । समाजवादी यथार्थवाद यही मार्क्सवादी सौन्दर्य चिन्तनको जगमा खडा भएको साहित्यिक मान्यता हो । 
५. साहित्य : समाज रूपान्तरणको औजार  
मार्क्सवादी सौन्दर्य चिन्तकहरू साहित्यलाई सोद्देश्यपूर्ण रचना मान्छन् । उनीहरूका अनुसार साहित्य भनेको समाज रूपान्तरणको महŒवपूर्ण हतियार हो । साहित्यले समाजमा भएको विकृति, विसङ्गति, शोषण, उत्पीडनलाई जनतासामु ल्याउनु पर्छ र जनतामा क्रान्तिचेत भर्नुपर्छ भन्ने माक्र्सवादी मान्यता छ । मार्क्सवादी सौन्दर्य चिन्तकहरूको धारणा पनि साहित्यलाई सोद्देश्य रचना अथवा वस्तु मानिएको छ । उनीहरूका अनुसार साहित्य भनेको समाज रूपान्तरणको महŒवपूर्ण हतियार हो । साहित्यले समाजमा भएको विकृति, विसङ्गति, शोषण, उत्पीडनलाई जनतासामु ल्याउनु पर्छ र जनतामा क्रान्तिचेत भर्नु पर्छ भन्ने रहेको अपेक्षा मार्क्सवादले राख्दछ । साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अङ्ग बन्नु पर्छ । यसले मजदुर वर्गको अग्रदलद्वारा सञ्चालित सामाजिक जनवादी कामको औजारको काम गर्नुपर्छ । लेनिनका विचारमा “बुर्जुवा नैतिकताका विपरीत, मुनाफाखोर व्यापारी बुर्जुवा प्रेसका विपरीत, बुर्जुवापन्थी साहित्यिक तरक्कीबाजी र व्यक्तिवादका विपरीत, साहेवी अराजकतवाद र नाफाका लागि गरिने हानथापका विपरीत समाजवादी सर्वहारा वर्गले पार्टी साहित्यको सिद्धान्त अगाडि राख्नु पर्छ” (लेनिन, २०६३:४७) । 
मार्क्सवादी मान्यता अनुसार साहित्यले यथार्थको बिम्बन गर्न सक्नुपर्छ । पुँजीवादी समाजको भ्रष्टता, नैतिकताहीन व्यवहार र प्रवृत्ति, शोषण, अत्याचार, अराजकतावादका विरुद्ध लेखिने साहित्य आवश्यक हुन्छ । मार्क्सवादीहरू मजदुर र किसानका साथै सम्पूर्ण उत्पीडित वर्गको हितका निम्ति साहित्य निर्माण गर्न चाहन्छन् । सर्वहारा जनताको जीवन र यथार्थमा आधारित साहित्य निर्माण हुनुु पर्ने र त्यसले सर्वहारा जनतामा क्रान्तिचेत भर्नु पर्ने धारणा मार्क्सवादी साहित्यिक मान्यता हो । साहित्य क्रान्ति र सामाजिक रूपान्तरणका साथै न्यायपूर्ण समाजको निर्माण लागि हुनुपर्छ भन्ने माक्र्सवादी मान्यता छ । 
फिसर (सन् १९९० : १७) का अनुसार कला साहित्यले उत्पीडित वर्गको संसारलाई बदल्नु नियतिलाई सघाउनु हो । उनी भन्छन्, “कला साहित्यको सारभूत कार्य भनेकै जादु गर्नु मात्र नभएर तिनै मुक्तिकामी वर्गलाई प्रवुद्ध बनाउनु तथा कर्मशील बन्ने प्रेरणा दिनु हो”  । चैतन्य (२०५४ :१४) का अनुसार कला साहित्यको आवश्यकता निम्नानुसार छ :
१. शोषण, उत्पीडन, अशिक्षा र गरिबीले ग्रस्त जनतामा सरल र प्रभावकारी रूपमा जीवनको मूल्यबोध गराउनु ।
२. जनताका दुस्मनप्रति घृणा र मित्रहरूप्रति प्रेमभाव जगाउँदै वर्ग चेतना जागृत गर्नृ ।
३. जनताको रुचि, भावना र संस्कार बदल्ने तथा उनीहरूको वैचारिक तथा भावनात्मक रूपान्तरण गर्ने काममा मद्दत पु¥याउनु ।
४. जीवन र क्रान्तिको भविष्यप्रति आशावादी दृष्टि अवलम्वन गर्न प्रेरित गर्नु ।
५. जनतामा घनीभूत ढङ्गले सामूहिक भावधाराको सृष्टि गर्नु तथा सौन्दर्य चेतना जगाउनु ।
६. क्रान्तिको आवश्यकता बोध र समाज रूपान्तरणका लागि जनतामा सचेत एवं क्रियाशील बनाउनु ।
६. समाजवादी यथार्थवादी साहित्यका मूलभूत विशेषता 
 समाजवादी यथार्थवाद माक्र्सवादको साहित्यक मान्यता भएकाले यसमा मार्क्सवादका आधारभूत अभिलक्षणहरू अन्तर्निहित हुन्छन् । समाजवादी यथार्थवादका मुख्य विशेषतालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
(क)  गतिशील यथार्थको प्रकटीकरण  
 द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादको आधारभूत मान्यता हो । भौतिकवाद भनेको देखिने, पुष्टि हुन सक्ने वा संसारमा भएको वस्तु मात्र सही हो भन्ने मान्यता हो । भौतिकवाद अध्यात्मवादको विरोधी छ । अध्यात्मवादले यो संसार आत्मा वा ईश्वरद्वारा सञ्चालित छ भन्ने मान्छ तर भौतिकवादी मान्यताले यो संसारको सञ्चालन कुनै अदृश्य वस्तु वा ईश्वरबाट नभई यही भौतिकवस्तुभित्रकै नियमद्वारा हुन्छ भन्ने मान्छ । मार्क्सवादले यान्त्रिक भौतिकवाद मान्दैन, द्वन्द्वात्मक भौतिकवाद मान्दछ । द्वन्द्वात्मक भनेको दुई पक्षका बिचमा हुने टकरावको स्थिति हो । मार्क्सवादका अनुसार हरेक वस्तुमा दुई विपरीत गुण हुन्छ,  तिनमा अन्तर्विरोध हुन्छ । ती विपरीत पक्षका बिचमा द्वन्द्व भइरहन्छ र त्यसले मात्रात्मक परिवर्तन गर्दै अन्ततः गुणात्मक परिवर्तन गर्दछ । गुणात्मक परिवर्तनपछि नयाँ अवस्थाको विकास हुन्छ, नयाँ वस्तु जन्मिन्छ । यो निरन्तर चली रहने प्रक्रिया हो । विकास वा परिवर्तनको यही नियमलाई माक्र्सवादले द्वन्द्वात्मक भौतिकवाद भनेको छ  र यही नियमका आधारमा समाजवादी यथार्थवादले यथार्थलाई स्थिर वा जड नमानी गतिशील हुन्छ भन्ने मान्दछ । 
 मार्क्सवादले द्वन्द्वात्मक भौतिकवादको नियम समाज विकासको प्रक्रियामा पनि लागु हुने मान्दछ । समाज विकासको द्वन्द्वात्मक भौतिकवादी नियमलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यसले आर्थिक पक्षलाई आधार र राजनीति, संस्कृति, साहित्य, कला, न्याय, धर्म आदिलाई उपरीसंरचना वा माथिल्ला बनोट मान्दछ । सामान्यतः आधार (अर्थ व्यवस्था) को चरित्र अनुसार उपरीसंरचना (साहित्य, राजनीति, धर्म, संस्कृति आदि) को निर्माण हुन्छ तर आधार र उपरीसंरचनाका बिचमा पनि द्वन्द्ववादको नियम लागु हुन्छ । उपरीसंरचनाले पनि आधारलाई परिवर्तन गर्न खोजिरहेको हुन्छ । मुख्य कुरा आधार हो अर्थात् आर्थिक पक्ष हो तर कतिपय अवस्थामा उपरीसंरचनाले पनि आधारलाई परिवर्तन गरिदिन्छन् । त्यतिमात्र होइन, उपरीसंरचनाका पक्षहरू बिचमा पनि द्वन्द्ववादी नियम लागु हुन्छ । राजनीतिले धर्मलाई, धर्मले राजनीतिलाई, साहित्यले राजनीतिलाई, राजनीतिले साहित्यलाई त्यस्तै धर्मले साहित्यलाई, संस्कृतिले साहित्यलाई, पर्यावरणले साहित्यलाई प्रभाव पारिरहेको हुन्छ । यसरी हेर्दा समाजको चरित्र स्थिर नभएर गतिशील हुन्छ, परिवर्तनशील हुन्छ । त्यसैले समाजवादी यथार्थवादी साहित्यमा गतिशील यथार्थको प्रकटीकरणलाई पहिलो सर्त मानिन्छ । साहित्यले चित्रण गर्ने समाज, जीवन, राजनीति, संस्कार, संस्कृति, मनोविज्ञान, प्रेम आदिलाई पनि गतिशीलतामा हेर्नु पर्छ, स्थिर वा जडमा हेर्नु हुँदैन । कुनै वस्तु हिजो जे जस्तो थियो, आज त्यस्तै छैन र भोलि त्यस्तै रहँदैन, निरन्तर परिवर्तनमा रहन्छ । यसर्थ साहित्यले चित्रण गर्ने यथार्थ गतिशील हुनुपर्छ, परिवर्तनशील हुनुपर्छ । यो समाजवादी यथार्थवादी साहित्यको मूलभूत विशेषता हो ।   
(ख) सबै प्रकारका उत्पीडनको विरोध र श्रमजीवी वर्गको पक्षधरता 
 समाजवादी यथार्थवादले श्रमजीवी वर्गको पक्षपोषण गर्दछ । मार्क्सवादले समाज विकासको इतिहासलाई वर्ग संघर्षको इतिहास मान्दछ । मानव उत्पत्तिदेखि अहिलेसम्म आउँदा मानव समाजको विकास जे जसरी भएको छ, त्यो वर्गसंघर्षबाट अगाडि बढेको छ र वर्गीय शोषण रहँदासम्म वर्ग संघर्ष जारी रहन्छ । माक्र्सवादले मानव समाजमा रहको यस्तो वर्गीय विभेदको अन्त्य चाहन्छ र वर्गविहीन समाजको परिकल्पना गरेको छ । त्यसैले समाजवादी यथार्थवादी साहित्यले सबै प्रकारका उत्पीडन, शोषण, अन्याय, अत्याचार, विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वास आदिको विरोध गर्दछ र समानता, न्याय, प्रगतिको पृष्ठपोषण गर्दछ ।
 ‘संसारका मजदुरहरू (श्रमजीवी वर्ग) एक हौँ’ भन्ने मार्क्सवादको मूल नारा हो । समाजवादी यथार्थवादी साहित्यको अभीष्ट पनि श्रमजीवीहरूको उन्नति हो ।  यसैले समाजवादी यथार्थवादले सदैव श्रमजीवी वर्गको हित चिताउँछ, यसको पक्ष दिन्छ । आदर्शवादी साहित्यमा ‘सर्वजन हिताय’ अथवा सबैको हित हुने कुरा गरिन्छ । तर समाज वर्गीय हुने हुनाले सबैको हित होस् भन्नुको अर्थ धनी, टाठाबाठाको मात्र हित होस् भन्नु हो । त्यसैले मार्क्सवादले ‘बहुजन हिताय’ को मान्यता अनुसार बहुसंख्यक जनताको हित अर्थात् श्रमजीवी वर्गको हित चाहन्छ, शोषक, बदमास, फटाहहरूका विरुद्ध मजदुर, किसान लगायतका श्रममा रमाउने, श्रममा बाँच्ने वर्गको हित नै माक्र्सवादको लक्ष्य रहको छ र समाजवादी यथार्थवादले माक्र्सवादको यही उद्देश्यलाई आफ्नो पनि अभीष्ट मान्दछ । 
(ग) उद्देश्यमूलक लेखन 
 एकथरी साहित्य चिन्तकहरू ‘स्वान्त सुखाय’ वा आनन्दका लागि साहित्य लेखिन्छ भन्छन् । समाजवादी यथार्थवादले पनि साहित्यबाट मनारञ्जन प्राप्त हुने कुरालाई स्वीकार गर्दछ तर साहित्य आनन्दको साधन मात्र नभएर, परिवर्तनको वाहक पनि हो, चेतनाको वाहक पनि हो अनि श्रमजीवी वर्गीय मुक्तिको उत्प्रेरक पनि हो भन्ने मान्दछ । समाजवादी यथार्थवादले साहित्यलाई बौद्धिक विलासका रूपमा मात्र लिनु हुँदैन भन्दै यसलाई उद्देश्यमूलक लेखनका रूपमा लिन्छ ।  
(घ) प्रगति र आशाको सञ्चार  
 विसंगतिवादी दार्शनिकहरू जीवनलाई विसंगतिमूलक एवम् निरासाको पुञ्ज मान्दछन् ।  एकथरी मनोवैज्ञानिकहरू जीवनलाई यौनकुण्ठा, असफलातको कुण्ठाहरूको पुञ्ज मान्दछन् । त्यस्ता दार्शनिकहरूका प्रभावमा साहित्य पनि निरासा र कुण्ठाको प्रलापका रूपमा आउने गरेको पाइन्छ । यसका विपरीत समाजवादी यथार्थवादले साहित्यलाई आशा र प्रगतिको वाहक मान्दछ । साहित्यले स्रष्टा र पाठक दुवैलाई आशावादी तुल्याउने गर्दछ भन्दै साहित्यलाई निराशा र कुण्ठा प्रकट गर्ने साधन मात्र बनाइनु हुँदैन भन्ने समाजवादी यथार्थवादी मान्यता हो । 
(ङ)  विचार र कलाको उचित समायोजन 
 ‘कला कलाका लागि’ (साहित्य साहित्यका लागि) भन्ने कलावादी दार्शनिकहरू साहित्यमा कलात्मकता अथवा सुन्दर तरिकाले भन्नु नै सबै थोक हो भन्ने मान्दछन् । तर समाजवादी यथार्थवादले सुन्दर तरिकाले भन्नु त पर्छ नै तर भनिएको कुरा पनि उत्तिकै सुन्दर हुनुपर्छ भन्ने मान्यता राख्दछ । समाजवादी यथार्थवादी साहित्यिक चिन्तकहरूले साहित्यको रूप र अन्तर्वस्तुमा कुन मुख्य हुन् भनेर बहस गरेका छन् र यी दुवैको द्वन्द्वात्मक सम्बन्ध हुने निष्कर्षमा पुगेका छन् । रूप वा कला पक्ष सुन्दर भयो तर अन्तर्वस्तु कमजोर भयो त्यो साहित्य शक्तिशाली हुँदैन र त्यसैगरी अन्तर्वस्तु सशक्त भए पनि रूप वा कला पक्ष कमजोर भयो भने पनि रचना प्रभावशाली हुँदैन । साहित्यमा प्रकट हुने सन्देश, विचार वा भाव जतिसुकै सुन्दर भए पनि त्यसलाई सुन्दर तरिकाले भन्न सकिएन भने त्यो सन्देश वा विचारले पाठकलाई आकर्षित गर्न सक्तैन । माक्र्सवादीहरू वस्तुमा रहने अन्तर्विरोधहरूलाई मुख्य र सहायक गरी वर्गीकरण गर्दछन् । यसरी वर्गीकरण गर्दा अन्तर्वस्तु प्रधान र रूप सहायक हुने देखिन्छ । भन्नुको अर्थ साहित्यमा विचार मुख्य हो अनि त्यो विचारको वाहकका रूपमा कला पनि नभई हुँदैन । विचारलाई कलात्मक तरिकाले भन्दा मात्र त्यो साहित्य हुन्छ, अन्यथा त्यो साहित्य नभएर नारा हुन जान्छ । साहित्य भनेकै भाषिक कला हो, अभिव्यक्तिको सुन्दर तरिका हो, विशिष्ट तरिका हो । यसर्थ विचार वा भन्न खोजिएको कुरा प्रमुख हुँदाहुँदै पनि आकर्षक ढंगले, सुन्दर तरिकाले, पाठक वा भावकको मन छुने र उसलाई प्रभाव पार्ने तरिकाले भन्न सक्नु पर्दछ । यसरी विचार र कलाको उचित समायोजनबाट मात्र साहित्य सुन्दर बन्दछ, उत्कृष्ट बन्दछ । 
६. निष्कर्ष   
मार्क्सवादी  दर्शनमा आधारित साहित्यिक सिद्धान्तको नाम समाजवादी यथार्थवाद हो । द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, संसारका श्रमजीवीहरू एक हौ भन्ने माक्र्सवादका आधारभूत प्रस्थावनामा टेकेर समाजवादी यथार्थवादको जन्म भएको हो । समाजवादी यथार्थवाद वस्तु यथार्थमा आधारित गतिशील यथार्थको चित्रणमा जोड दिने साहित्यिक मान्यता हो । यसले व्यक्तिगत कुण्ठा,  निरासा आदिलाई साहित्य मान्दैन । यथास्थितिमा रहेका शोषण, उत्पीडन, विभेद, असमानता, अन्याय, अन्धविश्वास आदिको विरोध गर्दै तिनको अन्त्य हुनुपर्छ भन्ने मान्यता नै समाजवादी यथार्थवादी मान्यता हो । साथै सामूहिक चिन्तन, श्रमजीवी वर्गको हित, सबै प्रकारका उत्पीडनबाट मुक्ति, समानता, र प्रगतिको पक्षपोषण नै समाजवादी यथार्थवादको आधारभूत विशेषता हो । 
सन्दर्भ सूची
अपूर्वानन्द (इ. २००१), सुन्दर का स्वप्न, नयी दिल्ली : वाणी प्रकाशन । 
क्रोचे, बेनेदत्त (इ. १९२२), एजम्सन अफ एस्थेटिक, लन्डन, युके । 
चापागाईं, निनु (सम्पा.) (२०६७), माक्र्सवादी साहित्य चिन्तन, ललितपुर : साझ प्रकाशन ।  
चैतन्य (२०६४), माक्र्सवादी कलादृष्टि र समीक्षा, काठमाडौँ : ऐरावती प्रकाशन । 
चैतन्य (२०६९), माक्र्सवादी सौन्दर्य चिन्तन, ललितपुर : साझा प्रकाशन । 
अपूर्वानन्द (इ. २००१), सुन्दर का स्वप्न, नयी दिल्ली : वाणी प्रकाशन । 
क्रोचे, बेनेदत्त (इ. १९२२), एजम्सन अफ एस्थेटिक, लन्डन, युके । 
चापागाईं, निनु (सम्पा.) (२०६७), माक्र्सवादी साहित्य चिन्तन, ललितपुर : साझ प्रकाशन ।  
चैतन्य (२०६४), माक्र्सवादी कलादृष्टि र समीक्षा, काठमाडौँ : ऐरावती प्रकाशन । 
चैतन्य (२०६९), माक्र्सवादी सौन्दर्य चिन्तन, ललितपुर : साझा प्रकाशन । 
ढकाल, घनश्याम र अन्य (सम्पा.) (२०६७), माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य,  काठमाडौँ : अखिल नेपाल लेखक संघ । 
भण्डारी, जगदीशचन्द्र (२०६५), सौन्दर्यको भूमिका, काठमाडौँ : अखिल नेपाल लेखक संघ । 
       000                                                                                                                   
 



















































 
No comments:
Post a Comment